Logo
Logo

सुनसरीका पाँच पालिकामा आज पनि कर्फ्यु जारी


504
Shares

धरान । सुनसरीका पाँच वटा पालिकामा शनिबार पनि कर्फ्यु जारी छ । फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु जारी गरेको थियो ।

दुई समूहबीचको झडपले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको थियो ।

कर्फ्यू हटाउनका लागि स्थानीय प्रशासनले शनिबार सर्वदलीय छलफल गरेको थियो । आजको छलफलमा कर्फ्यू जारी राख्ने निर्णयबारे छलफल भइरहेको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए । सर्वदलीय बैठक अहिले जारी छ ।

शुक्रबार दिनभर अशान्त रहेको सुनसरीको दक्षिणी क्षेत्रको अवस्था कर्फ्युका कारण शनिबार सामान्य छ । प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ ।

हरिनगर गाउँपालिका–१ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए । फेसबुकमा राखेको भिडियोका कारण उनी कुटिएका थिए । कुटपिटपछि हिन्दु र मुसलमान समुदायबीच विवाद भएको थियो । विवादका कारण भुटाहा क्षेत्र दिनभर अशान्त भएको थियो ।

भुटाहामा शुक्रबार भएको झडपमा १० जना आन्दोलनकारी र १८ जना प्रहरी घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र एक दर्जनभन्दा हवाई फायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्