काठमाडौं । इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि २० जना उम्मेदवार मैदानमा उत्रिएका छन् । उपनिर्वाचनको लागि १२ वटा राजनैतिक दल र आठ जना स्वतन्त्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
संघीय संसद्को एक निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचन संसदीय अङ्कगणितका लागि धेरै अर्थपूर्ण नभए पनि राजनीतिक भविष्यको संकेत हुने भएकाले पुराना र नयाँ दलसँगै पहिचानवादीका लागि इलाम–२ प्रतिष्ठाको विषय भएको छ ।

यस उपनिर्वाचनमा चार जनालाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ । नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खण्डका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बू र पहिचानवादीका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई मुख्य प्रतिस्पर्धी रुपमा हेरिएको छ । मंसिर २०७९ को निर्वाचन परिणामलाई हर्दा यो पटक पनि एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
गत निर्वाचनमा समानुपातिकतर्फ २६ हजार ५६२ मतसहित एमाले पहिलो दल थियो । कांग्रेसको २२ हजार ३३ मत ल्याएको थियो भने माओवादी केन्द्रले ५ हजार १५३ मत प्राप्त गर्दा रास्वपाले ४ हजार ६ सय ८६ मत ल्याएको थियो ।
गत निर्वाचनमा जे आएपनि यसपालिको उपनिर्वाचन आफ्नो पक्षमा आउने सबै दलको दाबी छ । उम्मेदवारहरू आ–आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै चुनावी मैदानमा उत्रिएका छन् ।
२०५६ सालदेखि एमालेका तत्कालीन नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले यही निर्वाचन क्षेत्रबाट लगातार चुनाव जित्दै आएका थिए । सुवासको निधनपछि एमालेले उनका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ ।
बुबाले तीन दशक धानेको संसदीय राजनीतिको विरासतलाई निरन्तरता दिनुपर्ने चुनौतीमाझ उनी मैदानमा छन् । उनलाई नेकपा माओवादी केन्द्र र विप्लवको नेकपाले समर्थन गरेको छ । सुहाङप्रति सकारात्मक तथा नकारात्मक दुवै पक्ष छन् । सकारात्मक पक्ष सुवासको विरासत र सहानुभूतिको भोट हो ।
नकारात्मक पक्ष वंशवाद र परिवारवाद हो । अर्कोतिर सुहाङलाई टिकट दिएकोमा एमालेको एउटा समूह असन्तुष्ट पनि छ । त्यस्तै एमालेलाई पहिचानविरोधिको ट्याग समेत लागेको छ । गत निर्वाचनमा सुवाससँग ११४ मतले मात्र पराजित डम्बरबहादुर खड्कालाई कांग्रेसले फेरि उम्मेदवार बनाएको छ । अघिल्लो हारको बदला लिने खड्काको दाउ छ ।
गत चुनावको मतको अङ्कगणित हेर्दा यसपटक पनि सुहाङ र डम्बरबीच प्रतिस्पर्धा हुने आकलन गर्न सकिन्छ । तर मतदाताको परिवर्तित आकांक्षा र अरु उम्मेदवारका कारण गत चुनावको अंकगणितलाई मात्र आधार मानेर अड्कलबाजी भने गर्न सकिँदैन ।
नयाँ दल रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । पत्रकारिता क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै रास्वपा प्रवेश गरेका मिलनले विकासको एजेन्डा बोकेर मैदानमा छन् । गत वर्ष १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा रास्वपाले हासिल गरेको सफलतालाई निरन्तरता दिनुपर्ने चुनौती उनीसामु छ ।
गत निर्वाचनमा साढे चार हजार मत प्राप्त गरेको रास्वपाले यो निर्वाचनमा रास्वपाले कांग्रेस, एमाले र माओवादीका असन्तुष्टहरूको मत तान्ने रणनीति बनाएको छ । त्यस्तै मिलनलाई पहिचानवादीको पनि भोट जाने आकलन गरिएको छ । आदिवासी जनजाति पत्रकार महासंघका महासचिव समेत रहेको मिलन आफैँ पहिचान आन्दोलनका अभियन्ता हुन् । माओवादीको एक समूह त मिलनसँगै रहेको पनि बताइन्छ ।
यसै गरी, स्वतन्त्र रूपमा डकेन्द्रसिंह लिम्बू उम्मेदवार बनेका छन् । उनलाई पहिचानवादी शक्तिले समर्थन गरेका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रलाई गत स्थानीय निर्वाचनमा स्वतन्त्र उठेर धरान उपमहानगरपालिकाको प्रमुख बनेका हर्क साम्पाङको साथ छ । उनले पहिचान पक्षधरको मत तान्ने र बलियो प्रतिस्पर्धी बन्ने अपेक्षा राखेका छन् ।
यसबाहेक इलाम २ मा यसपटक अन्य दल र स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । यसले गर्दा उम्मेदवारी मनोनयनलगत्तै निर्वाचनको मतपरिणाम विश्लेषण गर्न कठिन हुने देखिएको छ । त्यसमाथि मतदाताहरूको मत हरेक निर्वाचनमा कहाँ पर्छ भन्ने अनुमान गर्न गाह्रो छ । किनकि गत स्थानीय निर्वाचनमा काठमाडौं, धरान, धनगढीजस्ता सहरमा प्रतिस्पर्धी मानिएका दलका उम्मेदवार पराजित भएका उदाहरण छन् ।
यस्तो स्थितिमा सुहाङले बुबाको विरासत थाम्लान् ? या पूर्वबाट पनि रास्वपाको उदय होला ? या त पहिचानको मुद्दाले जनअनुमोदन प्राप्त गर्ला ? यो सबैका लागि जिज्ञासाको विषय भएको छ ।














