Logo
Logo

भारतको सहयोग रहने सामुदायिक विकास परियोजना शिलान्यास


252
Shares

काठमाडौं । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ मा निर्माण हुन लागेको श्री दिदिङ आधारभूत विद्यालयको विद्यालय भवन शिलान्यास भएको छ । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको ४ करोड २९ हजार रुपैयाँ आर्थिक सहयोगमा विद्यालय भवन निर्माण हुन लागेको हो । 

भवनको भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

कार्यक्रममा चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पालले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका छन् ।  उनले यहाँको विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुने र सिकाइका लागि राम्रो वातावरण सिर्जना हुने बताए ।

भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको बताए । उनले यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि, नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार बताए ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग विद्यालयलाई आवश्यक अन्य सुविधासँगै २ तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिने भएको छ ।  भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने र सङ्खुवासभाको चिचिला गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

यो परियोजना भारत र नेपालबिचको बलियो विकास साझेदारीको एक महत्त्वपूर्ण दृष्टान्त भएको कार्यक्रम बोल्ने वक्ताहरूले बताएका छन् । सन् २००३ यता भारत सरकारको सहयोगमा नेपालका विभिन्न क्षेत्रमा ५ सय ५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएको छ । जस मध्ये ४ सय ८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् । २ वटा परियोजना सङ्खुवासभामा समेत छन् । 

भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९ सय ७४ वटा एम्बुलेन्स र २ सय ३४ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ । कोशी प्रदेशलाई १ सय ४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहार दिएको छ ।

१३ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस सङ्खुवासभालाई उपलब्ध गराइएको दूतावासले जनाएको छ । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।  

प्रतिक्रिया दिनुहोस्