Logo
Logo

दासढुंगा दुर्घटनाबारे यस्तो थियो ओलीको बयान


5.7k
Shares

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितले ज्यान गुमाएको आज ३१ वर्ष पूरा भएको छ ।

२०५० जेठ ३ गते पोखराबाट नारायणगढ आउने क्रममा चितवनको दासढुंगा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा पार्टीका दुई लोकप्रिय नेताको निधन भएको थियो ।

त्यतिबेला सो घटनाबारे अध्ययन गर्न सरकारले विभिन्न व्यक्तिहरुको नेतृत्वमा छानविन आयोग गठन गर्यो । तर, पद्मरत्न तुलाधरको नेतृत्वमा गठित नागरिक छानबिन समितिले भने एमालेभित्र र बाहिरका विभिन्न व्यक्तिहरुको बयान लिएको थियो ।

शंकाको दृष्टिकोणबाट हेर्नेहरूले सो दुर्घटनामा विदेशीहरूको षडयन्त्र देख्छन् । साथै, कतिपयले पार्टीकै नेताहरू पनि संलग्न हुन सक्ने शंका व्यक्त गर्छन् र हालसम्म पनि गर्दै आइरहेका छन् । विदेशी षडयन्त्रको विषयमा प्रतिवेदनहरूमा एमालेका नेताहरूले पनि आशंका व्यक्त गरेको पाइन्छ ।

त्यसबेला अहिले एमालेका अध्यक्ष रहेका केपी शर्मा ओलीसँग पनि नागरिक समितिले बयान लिएको थियो । ओलीले दिएको बयानमा घटनामा पार्टीभित्रकै संलग्नतालाई अस्वीकार गरेका छन् । ‘दुर्घटनामा पार्टीभित्रैको रोल छ जस्तो लाग्दैन’, बयानमा उनले भनेका छन् ।

उनले त्यस घटना घटेको दिन केही आपराधिक पृष्ठभूमिका मान्छेहरू र केही आपराधिक प्रवृत्तिमा लाग्ने खालका मोटर साइकलहरू कमरेडहरू (भण्डारी र आश्रित) चढेको गाडीको अघिपछि लागेको चर्चाकै रुपमा सुनेको बयान दिएका छन् ।

ओलीले आफूहरूले मदनलाई सावधान रहनुपर्ने कुराहरू गरेको बयानमा बताएका छन् । उनको भनाइ छ, ‘सावधान हुनुपर्छ भन्ने कुरा उत्तर कोरियाको दूतावासबाट पनि आएका हुन् र हामीले पनि मदन कमरेडलाई सावधान रहनुपर्ने कुरा गर्थ्यौँ । एक्लै हिँड्न नदिई सुरक्षाको व्यवस्था पनि गर्ने गरेका थियौँ ।’

जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रणेता तत्कालीन नेकपा एमालेका महासचिव भण्डारी र नेता जीवराज आश्रित चढेको जीप दुर्घटनामा परेको चर्चित् ‘दासढुंगा काण्ड, २०५०’ हत्या हो कि दुर्घटना ? अझैसम्म रहस्यमय नै छ।

प्रतिक्रिया दिनुहोस्