गल्याङ । बुटवल पावर कम्पनी आँधिखोला वितरण केन्द्रबाट वितरित विद्युत् महसुलमा भारी वृद्धि भएपछि आन्दोलन सुरु भएको छ । बुटवल पावर कम्पनीको सिफारिसमा विद्युत् नियमन आयोगले विद्युत् महसुल बढाएकोमा आन्दोलन सुरु भएको हो ।
आन्दोलनको पहिलो कार्यक्रम अनुसार शुक्रवार दिउँसो एक बजे देखि बुटवल पावर कम्पनीको गल्याङ शाखा कार्यालयमा गल्याङ चेम्बरको आयोजनामा धर्ना सुरु भएको छ ।

यसअघिको मूल्यमा झन्डै ५० प्रतिशत बढाइएपछि चौतर्फी आलोचना भएको छ । गल्याङ चेम्बर अफ कमर्सले तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गर्दै बुटवल पावर कम्पनी गल्याङ शाखामा ज्ञापनपत्र बुझाएको छ । बुटवल पावर कम्पनी प्रशासन शाखाका दिलु थापालाई चेम्बरका प्रतिनिधिहरू पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष पूर्णबहादुर रानाभाट अर्जुनको नेतृत्वमा पुगेको प्रतिनिधिसहितकाे समुहले ज्ञापनपत्र बुझाएको हो । सो अवसरमा अध्यक्ष रानाभाटले बढेको शुल्क तिर्न उपभोक्ताले नसक्ने भन्दै कुनै पनि हालतमा बढाइएको शुल्क फिर्ता गर्नुपर्ने बताए ।
ज्ञापनपत्र बाचन गर्दै गल्याङ चेम्बर अफ कमर्सका महासचिव हिमलाल भण्डारीले बढाइएको शुल्क फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए । जवाफमा बुटवल पावर कम्पनी गल्याङ शाखाकी दिलु थापाले चेम्बर अफ कमर्सले राखेको माग सम्बन्धित निकायमा पुर्याउने बताए ।
यस्तै गल्याङ नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा पनि ज्ञापनपत्र बुझाउँदै चेम्बरले शुल्क फिर्ता गर्ने अभियानमा साथ दिन आग्रह गरेको छ । जवाफमा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले चेम्बरले उठाएको जायज माग सम्बोधनका लागि विद्युत् नियमन आयोगमा जानकारी सहितको पत्र पठाइने बताए ।
गल्याङ चेम्बर अफ कमर्सले आफूहरूको न्यायपूर्ण आन्दोलनमा सहभागी हुन सम्पूर्ण उद्योगी, व्यवसायी, व्यापारी तथा आम उपभोक्ताहरूलाई अपिल पनि गरेको छ । यसअघि बुधवार वालिङका सात राजनीतिक दलले पनि संयुक्त ज्ञापनपत्र बुझाउँदै बढाइएको शुल्क फिर्ता गर्न माग गरेका छन् ।
यसैवीच, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले विद्युत् नियमन आयोगले बढाएको शुल्क आफूहरूलाई मान्य नहुने बताएका छन् । उनले बुटवल पावर कम्पनीबाट अपारदर्शी ढङ्गले आयोगमा सिफारिस गरेको बताए । उनले गुणस्तरमा कुनै सुधार नगर्ने तर महसुल बढाउने कुरा मान्न नसकिने बताए ।
बुटवल पावर कम्पनीको तर्फबाट काठमाडौं र प्रभावित नभएको क्षेत्रमा गएर लुकिछिपी जस्तो सार्वजनिक सुनुवाइ गरिएको भन्दै सरोकारवालासँग ठोस समन्वय नभएको अध्यक्ष भण्डारीको भनाई छ ।
बुटवल पावर कम्पनीले बढाएको शुल्कमा यसअघि न्यूनतम २० युनिट भएकोमा अब ३० युनिट कायम गरिएको छ भने एम्पियर अनुसार करिब ५० प्रतिशत शुल्क बढाइएको छ । बढेको शुल्क जेठ महिनाको मिटर रिडिङ देखि नै सुरु हुने बुटवल पावर कम्पनी गल्याङ शाखा प्रमुख डोल खरेलले जानकारी दिए ।














