काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारमा गरेको छड्के अनुगमनबाट कर्मचारीको मनोमानी छताछुल्ल भएको छ । केन्द्रले सिंहदरबारका ४ वटा मन्त्रालयमा छड्के अनुगमन गरेको थियो ।

शिक्षा विज्ञान तथा प्रविधि, गृह, उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा परेका छन् । छड्के गर्दा ३२ जना कर्मचारी बिदा स्वीकृत नगरी कार्यालय नआएको फेला परेको छ । ७८ जना कार्यालय समयमै उपस्थित नभएको र ४ जना कार्यालयको कक्षमा नभेटिएको केन्द्रले जनाएको छ । २० जना कार्यालयले तोकिएको पोसाकबिना हाजिर भएको केन्द्रले जनाएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा ७ जना बिदा स्वीकृत नगराई अनुपस्थित भएका थिए । त्यहाँ ७ जना कार्यालयमा समयभन्दा ढिलो आइपुगेका थिए । ४ जना कर्मचारी कार्यकक्षमा भेटिएनन् भने ९ जनाले तोकिएको पोसाक लगाएर नआएको केन्द्रको भनाई छ ।
यसै गरी गृह मन्त्रालय छड्के गर्दा ९ जना कर्मचारी बिदा स्वीकृत नगराई कार्यालयमा नआएको र ३४ जना कार्यालय समभन्दा ढिलो गरी उपस्थित भएको फेला परेको छ ।
केन्द्रका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा २ जना कर्मचारी तोकिएको पोसाकमा भेटिएनन् । परराष्ट्र मन्त्रालयमा १० जना कर्मचारी ढिला गरी आएको र कार्यकक्षमा नभेटिएको केन्द्रले जनाएको छ । परराष्ट्रका ९ जना कर्मचारीले कार्यालय पोसाक नै नगलाएको पाइएको केन्द्रले जनाएको छ ।














