सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सोमबार दिउँसो भएको मिनीबस दुर्घटनामा ज्यान गुमाएका दुबै जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रुपेश खड्काका अनुसार मृत्यु हुनेहरूमा डुंगेश्वर गाउँपालिका–६ दैलेखका २२ वर्षीय भिमसेन राना र भुरीगाउँ बर्दियाका ७० वर्षीय शे बहादुर खड्का छन् । दुवैको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते हुनेहरूको संख्या २१ रहेको छ । घटना लगत्तै घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाइएको थियो । घाइतेहरूमध्ये १९ जनाको कर्णाली केयर ईन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको छ ।
अन्य दुई जनाको सुर्खेत र प्रदेश अस्पतालमा उपचार जारी छ । घाइतेहरूमध्ये एक जनाको अवस्था भने गम्भीर रहेको एसपी खड्काले जानकारी दिएका छन् ।
दैलेखको दुल्लु नगरपालिकाबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनीबस वीरेन्द्रनगर –१४ स्थित कटकुवा नजिकै सोमबार साढे १ बजेतिर दुर्घटना भएको थियो ।
ओरालो सडक र मोडमा गति नियन्त्रण हुन नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको कर्णाली प्रदेशका ट्राफिक प्रमुख राम प्रकाश शाहले बताएका छन् ।














