काठमाडौं । बाजुरामा १ महिला शङ्कास्पद अवस्थामा मृत भेटिएका छन् । बडीमालिका नगरपालिका–६ कुर्धाका ४५ वर्षीय धौली बडुवाल मृत भेटिएका हुन् ।
स्थानीय बुढाकुर्धा भन्ने लेकमा बडुवाल वस्तुभाउ हेर्न गोठका बस्दै आएका थिए । उनलाई सोमबार बिहान फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीले जनाकारी दिए ।

मंगलबार जिल्ला अस्पतालमा पोष्टमार्टमपछि उनको शव परिवारको जिम्मा लगाइएको छ । मृतकको भजाइनल स्वाब परीक्षणका लागि काठमाडौं पठाउने तयारी छ । प्रहरीका अनुसार उनको टाउको र अनुहारमा चोट छ । यस्तै, मृतक बडुवाल बस्ने गोठको ढोकामा पनि रगत छ । उनको कुटपिटबाट हत्याको आशंका गरिएको छ ।
प्रहरीका अनुसार गरगहना र साथको भएको पैशा मृतक सँगै भेटिएको छ । ‘घटना शङ्कास्पद छ । प्रारम्भिक अनुसन्धानबाट गरगहना र पैशा लुट्नका लागि घटना भएको देखिँदैन,’ डीएसपी गिरी भन्छन्, ‘त्यसैले हामी अन्य कोणबाट घटनाको विस्तृत अनुसन्धान गरिरहेका छौँ ।’
बडुवालका श्रीमानको २० वर्ष अघि नै मृत्यु भइसकेको छ । कुर्धा भन्ने गाउँँमा मृतकका छोरा र बुहारी बस्ने गर्छन् । गाउँभन्दा करिब २ घण्टाको दुरीमा पर्ने लेकमा उनका शारीरिक अशक्त भएका छोरी पनि बस्थे । तर छोरी २ दिनअघि मात्रै लेकबाट गाउँ झरेको खुलेको छ । पीडित परिवारले घटनाको निष्पक्ष अनुसन्धानको माग गरेको छ ।














