Logo
Logo

गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिटमा सकिएन बहस


630
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुरु भएको बहस नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

मंगलवार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा उनीतर्फका कानुन व्यवसायीहरूले बहस सकेका छन् । जसअनुसार निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, शेरबहादुर केसी, विजय मिश्र, यदुनाथ खनाल लगायतले बहस गरेका थिए । उनीहरूको बहसपछि आजै सरकारी पक्षबाट पनि बहस सुरु भएको छ ।

सरकारका तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेल नै बहसमा उत्रिएका थिए । बहसका क्रममा निवेदकहरूले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक भएकाले खारेज हुनुपर्ने जिकिर गरेका थिए । उनीहरूले सर्वोच्च अदालतले नै स्थापित गरेको कोशी प्रदेशको नजिरको उल्लङ्घन गण्डकी प्रदेशमा भएको भन्दै मुख्यमन्त्रीको विश्वास मत बदर गर्दै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनुपर्ने माग गरेका हुन् ।

बहसका क्रममा वरिष्ठ अधिवक्ताहरूले संविधानको व्यवस्था पालना गर्ने दायित्वबाट सभामुख विमुख भएको प्रश्नसमेत उठाएका थिए । गण्डकी प्रदेशका कुल ६० सदस्य प्रदेश सभा सदस्य भए पनि ३० जनालाई देखाएर बहुमत दाबी गर्नु संविधानको उल्लङ्घन हुने दाबी उनीहरूले गरेका थिए ।

त्यस्तै मंगलवार महान्यायाधिवक्ताले संविधानको व्यवस्था सवैको हकमा लागू हुने भएकाले गण्डकी प्रदेशका सभामुखको हकमा पनि लागू हुने र मुख्यमन्त्रीको हकमा पनि लागू हुने भनी बहस गरेका थिए ।

महान्यायाधिवक्ता यसअघि संयुक्त इजलासले गण्डकी प्रदेशको सरकारका बारेमा विस्तृत व्याख्या गरेको कुरा पनि उठाएका थिए । उनको बहस बाँकी नै रहेको छ भने बाँकी बहस बुधवार गर्ने छन् । त्यसपछि दुई जना सरकारी वकिलहरूले बहस गर्ने छन् ।

उक्त बहसपछि मुख्यमन्त्री अधिकारीका तर्फबाट बहस हुने छ । अधिकारीका तर्फबाट बहस सकिएपछि पाण्डेका कानुन व्यवसायीले जवाफ दिने छन् । जवाफी बहस सकिएपछि सर्वोच्चले निर्णय सुनाउने छ ।

प्रतिक्रिया दिनुहोस्