
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न गठित कार्यदलको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको हो । आज दिउँसो बैठक बस्ने तय भएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ । कांग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ ।
यसअघि बसेका तीनवटा बैठक सत्तापक्ष र कांग्रेस आ-आफ्नो अडानमा रहेकाले निष्कर्षमा पुग्न सकेका थिएनन् । कांग्रेसको विरोधका बीच प्रतिनिधिसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् । प्रतिनिधिसभाको बैठक भोलिका लागि बोलाइएको छ । त्यसअघि सहमति खोज्नेर सदन सुचारु हुने वातावरण बनाईदिन सभामुख देवराज घिमिरेले दलहरुलाई आग्रह गरेका छन् ।














