काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले मापसे गरेका व्यक्तिलाई सडक व्यवस्थापनमा पठाएको भन्दै आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले गृहमन्त्रीले हुकुमी शासन गर्न लागेको आरोप लगाए ।

‘मापसेमा लर्बर हुँदै ट्राफिकको काम गर्न थालेपछि पहेँलो ज्याकेट लगाउने सबै मापसेमा परेमा भन्ने भान भयो भने मुलुक कतातिर जान्छ ?’ सांसद खतिवडाले भने, ‘तिनीहरूको इज्जत कता जान्छ ? त्यसैले यो काम तुरुन्त बन्द गरेर कानुनअनुसार शासन चलाउने व्यवस्थाको सुरुवात होस् ।’
गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको दिन महिला ट्राफिकलाई रजस्वला भएको बेला सडकमा नखटाउने निर्णय गरेको राम्रो भएपनि कानुन बनाएर मात्र कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।














