Logo
Logo

कम्युनिष्ट एकताको प्रयासमा प्रचण्ड 


4.8k
Shares

काठमाडौं । नेपालमा कम्युनिस्ट पार्टी गुट, फुट हुँदै अहिले पुनः जुट्ने झिनो प्रक्रियामा छन् । वामपन्थी फुट्नु र जुट्नु सामान्य जस्तै भएको छ। अहिले पनि कम्युनिस्ट पार्टी विभिन्न धारमा विभक्त भएर, चोइटिएर र फुटेर अनेकौँ भँगालामा परिणत भएका छन् ।

विशेष गरी राजतन्त्र फ्याँक्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सदियौँदेखिको केन्द्रीकृत राज्य प्रणालीलाई अन्त्य गर्दै लोकतन्त्र, समावेशिता, सङ्घीयता धर्मनिरपेक्षतालगायत उपलब्धि हासिल गर्ने भूमिका निर्वाह (दस वर्षे जनयुद्धको थालनी) गरेको तत्कालीन नेकपा (माओवादी) यति बेला छिन्नभिन्नकै अवस्थामा छ। 

 पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र)मा नामकरण भएको छ। मंसिर १६ मा सम्पन्न स्थानीय तहको उपनिर्वाचन मत परिणामले नेकपा माओवादी केन्द्र हौसिएको छ । 

काँग्रेस–एमालेको सत्ता समीकरण भइरहेको अवस्था भएपनि अपेक्षाभन्दा राम्रो मतपरिणाम आएपछि माओवादी थप हौसिएको स्थिति  छ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब माओवादीको दिन फर्किएको भन्दै २०६४ सालको स्मरण गरेका थिए । 

प्रचण्ड अब यही जनधारबाट स्पिड बढाउँदै पार्टीलाई बलियो बनाएर  जाने रणनीतिमा देखिन्छन् । उनले आगामी ०८४ को निर्वाचनलाई  केन्द्रित गरेर वृहत् वामपन्थी एकताका लागि जोड दिने गरेका छन् । 

एकताको आरम्भस्वरुप माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेसपा निकट नेपाल शिक्षक समाजबीच शनिबार एकता भएको छ । यस अवसरमै बोलेका प्रचण्डले शिक्षक सङ्गठनहरूको एकतालाई सकारात्मक सन्देशका रुपमा अर्थ्याएका छन् । 

माओवादी पछिल्लो समय केही राजनीतिक दलहरूसँग एकताको नजिक रहेको देखिन्छ । हुन त माओवादी निरन्तर शक्ति क्षयीकरणको चपेटामा परेपछि पार्टीमा आधिकारिक निर्णय नै गरेर विचार मिल्ने दलहरूसँग एकता गर्ने पक्षमै देखिन्छ ।

यस्तोमा प्रचण्डले एकीकृत समाजवादी, नेकपा विप्लव समूह र महिन्द्र राय यादव नेतृत्वको नेसपासँग एकताको पहल गरिरहेका छन् । यसका लागि चारै दलहरूले भित्री रुपमा भरपुर प्रयास गरिरहेको प्रस्ट छ ।  यद्यपि ठोस निष्कर्ष भने आइसकेको छैन । पछिल्लो समय वृहत् बाम एकताको प्रयास जारी राखेको माओवादीले एकता धेरैको साझा निष्कर्ष बन्न थालेको दाबी गर्ने गरेको छ । 

एकातर्फ वामपन्थी एकताको चर्चा गरिरहँदा माओवादी अध्यक्ष प्रचण्डले अर्कोतर्फ भ्रष्ट्राचारी र प्रतिकृयावादी तत्वहरुविरुद्ध चर्को संघर्ष गर्ने चेतावनी पनि दिँदै आएका छन् । 

यसरी हेर्दा माओवादी आउँदो निर्वाचन सामना गर्न सशक्त बन्ने तरखरमा देखिन्छ । यसअघि प्रचण्डले आफूलाई निर्णायक शक्ति बनाउन समाजवादी मोर्चाको अवधारण ल्याएका थिए । तर त्यसमा जसपा विभाजन भएपछि समाजवादी मोर्चा खास सशक्त बन्न सकेन । तरपनि समाजवादी मोर्चाभित्रै रहेका अन्य दलहरु एकता गर्ने प्रयासमै छन् । 

भर्खरै सम्पन्न उपनिर्वाचनमा पनि प्रचण्डले नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरे । नेकपा एकीकृत समाजवादीकै सहयोगमा माओवादी केन्द्र कीर्तिपुर महानगरपालिकाको उपनिर्वाचनमा तेस्रो दल बन्यो । 

उपनिर्वाचनको मत परिणामले हौसिएका प्रचण्डसमेत यो सहकार्यलाई निरन्तरता दिँदै ०८४ सालको आम निर्वाचन सम्म नै पुर्‍याउन चाहन्छन् ।

यद्यपि स्थानीय तहको उपनिर्वाचन र केन्द्रको निर्वाचन परिणामका आधार एकै नहुने हुँदा माओवादीलाई आगामी आम निर्वाचनको नतिजा सन्तोषजनक बन्न सक्छ भन्ने ग्यारेन्टी भने दिन सकिँदैन । तर जे होस् प्रचण्डले सुखद नतिजा प्राप्त गर्नका लागि भरपुर प्रयास भने गरेकै देखिन्छ  । यस्तोमा उनको योजना कति सफल होला त्यो भविष्यले नै देखाउनेछ । 

प्रतिक्रिया दिनुहोस्