Logo
Logo

‘उपनिर्वाचनमा अपेक्षित परिणाम आउन नसकेकोमा गम्भीर छौँ’


1.4k
Shares

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको एमालेले मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा अपेक्षित परिणाम आउन नसकेकोप्रति गम्भीर बन्नुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ । एमालेले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको पनि निष्कर्ष निकालेको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले सहरी जनमतलाई पार्टीसँग आबद्ध गर्न नसकेको निष्कर्ष निकालिएको बताए ।

उनले भने, ‘मंसिर १६ गते सम्पन्न स्थानीय तहका उपनिर्वाचनको समीक्षा गरेका छौँ । समग्रमा एमालेले थप उपलब्धि हाँसिल गरेको छ । हामीले जितेका सात वडाहरूमा पद रिक्त भएको थियो, सबै गरेर ४२ पदमा रिक्त थियो । एउटा अध्यक्ष, दुई उपाध्यक्षसहित समग्रमा ८ सिटमा विजय हाँसिल गरेका छौँ । तर यति हुँदाहुँदै पनि यो परिणामलाई गम्भीरतापूर्वक लिएका छौँ ।’

सहरी मतदातालाई पार्टीसँग जोड्नुपर्ने पार्टीको निष्कर्ष रहेको पनि ज्ञवालीले जानकारी दिए । ‘अझ बढी सहरी जनमतसँग पार्टीलाई जोड्दै लैजानुपर्ने निष्कर्ष निकालेका छौँ,’ उनले भने, ‘यो दुई वर्षको बीचमा प्रायः जुन पार्टीले जुन ठाउँमा जितेको थियो, त्यहाँ जनमत परिवर्तन भएको देखिन्छ । मतको परिवर्तनलाई गम्भीरतापूर्वक लिएका छौँ ।’

एमाले सचिवालय बैठकले चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा सम्झौता गरी अघि बढाउनु सफलता भएको पनि निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्