Logo
Logo

जनतामा संसद्प्रति विश्वास कायम राख्न कर्मचारीको भूमिका महत्वपूर्ण : राष्ट्रियसभा अध्यक्ष


441
Shares

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनता, सरकार र संसद्को सहकार्यलाई प्रभावकारी तथा संसद्लाई राष्ट्रिय हितका मुद्दामा एकताबद्ध बनाउन संसद् सेवाका कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

अठारौँ सङ्घीय संसद् सेवा दिवसका अवसमा आज यहाँ आयोजित समारोहमा अध्यक्ष दाहालले जनतामा संसद्प्रति विश्वास कायम राख्न संसद् सेवाका कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

अध्यक्ष दाहालले एकात्मक शासन व्यवस्था रहेको अवस्थामा स्थापना भएको संसद् सेवा आज सङ्घीय शासन प्रणालीअनुसार सञ्चालन गर्दा थुप्रै चुनौती र अप्ठ्यारा देखिएका उल्लेख गर्दै समयानुकूल संसद् सेवाको पुनःसंरचना गर्न आवश्यक भइसकेको उल्लेख गरे ।

‘यसका लागि विद्यमान कानुनी व्यवस्था, परीक्षा प्रणाली, कर्मचारीलाई दिइने सेवा सुविधा र संरचनामा पनि परिमार्जन गर्नुपर्छ’, अध्यक्ष दाहालले भने, ‘संसद्लाई अझ सक्षम, प्रभावकारी र बलियो बनाउन संसद् सेवालाई समयानुकूल परिमार्जन गर्न अब ढिलाइ गर्नुहुँदैन ।’

संसद्का हरेक गतिविधिमा जनताको सहज पहुँच र सहभागितालाई कसरी बढाउने भन्नेतर्फ विशेष ध्यान दिइनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संसद्का गतिविधिमा जनताको प्रत्यक्ष पहुँच सुनिश्चित गर्न अनलाइनबाट जनताको राय सङ्कलन र प्रश्नहरूको जवाफ दिने प्रणाली लागू गर्नु उचित हुने बताए ।

विधेयक निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको प्रक्रियालाई सहज र द्रुत बनाइ गुणस्तरीय कानुन निर्माणमा धेरै मेहनत गर्न जरुरी रहेको बताउँदै अध्यक्ष दाहालले संसद्को प्रभावकारिताका लागि संसद्भित्र अनुसन्धानात्मक प्रणालीलाई बलियो बनाउन संसदीय अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस्