
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समीकरण पूरा भएको छ । आज भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स पराजित भएसँगै एनपीएलको प्लेअफ समीकरण पुरा भएको हो ।
आजको खेलमा पराजित भएपनि कर्णालीले रनरेटका आधारमा प्लेअफमा स्थान बनाएको छ । सुदूरपश्चिम ७ खेलमा ६ जितसहित शीर्ष स्थानमा, ५ जितसहित जनकपुर बोल्ट्स दोस्रो, ४ जितसहित चितवन राइनोज तेस्रो र समान ४ जितसहित कर्णाली चौथो स्थानमा रहँदै प्लेअफको यात्रा तय गरेको हो ।
शीर्ष स्थानमा रहने दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरबिच प्रतिस्पर्धा हुनेछ । तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् । चितवन र कर्णालीले एलिमिनेटर खेल्नेछन् । क्वालिफायर र एलिमिनेटर खेल बुधबार हुनेछ ।
दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र एलिमिनेटरमा विजयी भएको टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि फाइनल खेल पुस ६ गते हुनेछ । नेपालमा पहिलोपटक भएको एनपीएल यहि मंसिंर १५ देखि सुरु भएको थियो ।














