काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१५ घर भई काठमाडौंको टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई आइतबार दिउँसो काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट नगद ३९ लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए ।
कार्यालयको इन्टिलिजेन्स शाखाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।














