Logo
Logo

भीमफेदी दुर्घटना अपडेट: सहमतिपछि १४ शव आफन्तलाई बुझाइँदै


0
Shares

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका १४ जनाको शव शुक्रबार नै पोस्टमार्टम गरी आफन्तलाई बुझाइने भएको छ । पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच राहत तथा क्षतिपूर्तिका विषयमा सहमति भएपछि शव बुझाउने प्रक्रिया अघि बढेको हो ।

दुर्घटनामा मृत्यु भएका १४ जनाको शव हेटौँडा अस्पतालमा राखिएको थियो । मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राख्दै शव बुझ्न अस्वीकार गरेका थिए ।

मृतकका आफन्तले शव नबुझेपछि अस्पतालमा शव व्यवस्थापनमा समेत समस्या भएको थियो । हेटौँडा अस्पतालमा एक पटकमा ४ वटा शव मात्रै राख्न सक्ने क्षमता रहेको अस्पतालका डा. हरि खड्काले जानकारी दिएका थिए । १४ वटा शव अस्पतालमै राख्नुपर्दा व्यवस्थापनमा कठिनाइ भएको थियो ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलका अनुसार पीडित पक्ष र छानबिन समितिबीच भएको सहमतिअनुसार कानुनबमोजिम प्राप्त हुने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारले पहल गर्नेछ । थप राहत तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गर्ने सहमति भएको छ ।

सहमतिपछि पोस्टमार्टम हुन बाँकी ९ जनाको शव परीक्षण प्रक्रिया अघि बढाइएको छ । हेटौँडा अस्पतालले पोस्टमार्टमका लागि आवश्यक सम्पूर्ण तयारी गरिसकेको छ । पोस्टमार्टम प्रक्रिया पूरा गरी शुक्रबार नै सबै शव आफन्तलाई बुझाउने तयारी गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000