
काठमाडौं । संघीय संसद् सचिवालयले यहि माघ १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार पारेको छ ।
सभामुख देवराज घिमिरे र पाँच प्रमुख दलका प्रमुख सचेतकहरुबीचको छलफलबाट १८ गतेदेखि ३० गतेसम्म बस्ने बैठकका लागि संसद्को क्यालेन्डर तयार पारिएको हो ।
सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले १८ गतेदेखि ३० गतेसम्म बस्ने बैठकका लागि क्यालेण्डर तयार पारिएको जानकारी दिए ।
जसमा संसद्को पहिलो दिन सुरुमा प्रधानमन्त्री लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । त्यसपछि सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्मा पेस हुनेछन् ।
त्यसपछि दोस्रो बैठक २२ गते बस्नेछ । सो दिनको बैठकमा पहिलो दिन पेश भएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै माघ २३ र २४ गते पनि संसद् बैठक तय भएको छ । २५, २६ र २७ गते भने विभिन्न समितिको बैठक राखिएको छ । त्यसपछि माघ २८, २९ र ३० गते संसद् बैठक बस्ने बर्तौलाले जानकारी दिए ।














