Logo
Logo

पूर्वउपराष्ट्रपति पुनलाई माओवादीभित्रै रोक


3.3k
Shares

काठमाडौँ । दुई दुई पटक राज्यको माथिल्लो ओहोदामा पुगिसकेका माओवादीका पूर्वलडाकु नन्दबहादुर पुनले राजनीतिमा चासो राख्दा नेताहरूलाई अप्ठेरो महसुस भएको थियो । तर पछिल्लो पटक माआवादीभित्र विरोध भएपछि भने हाइसन्चो मानिएको छ ।

पुनका छोरालाई समेत राजनीतिमा लाग्न अप्ठेरो भएपछि उनी आफै राजनीतिमा सक्रिय हुन खोजेका थिए । छोरा दीपेश पुनलाई सहकारी ठगी आरोपमा अदालतमा मुद्धा चलिरहेका बेला उनी आफै राजनीतिमा सक्रिय हुने इच्छा जाहेर गरेका थिए ।

यही बेला नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले अघोषित रुपमा देश दौडाहमा छन् । सरकारमा रहँदा जनता र कार्यकर्ता विर्सेका प्रचण्ड अघोषित रुपमै देश दौडाहमा रहेका हुन् । देशका विभिन्न भागमा पुगेर प्रचण्डले आफ्नो पार्टीलाई बहुमत मागिरहेका छन् । अर्थात आउदो निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बनाउने अभियानमा आफू लागिरहेको बताउदै आएका छन् ।

यो विषय प्रचण्डले संसदीय दलको बैठक र पार्टी बैठकहरूमा पनि राखिरहेका छन् । यही सन्दर्भमा प्रचण्डले पुनलाई सारथी बनाउने कोसिस पनि गरेको हुन सक्ने आँकल गरिएको थियो । वर्षमान पुन र जनार्दन शर्माको भर नलागेपछि चेक एण्ड व्यालेन्स गर्न पूर्वउपराष्ट्रपतिलाई पार्टीमा ल्याउन लागेको चर्चा पनि उत्तिकै छ ।

यस्तो बेला पार्टीभित्र प्रचण्डले राखेको विविध प्रस्तावमा सबै पदाधिकारी र नेताहरू एकमत हुन नसकिरहेका बेला पुनलाई पार्टीमा ल्याउने प्रस्तावमा पनि सहमत हुन सकेका छैनन । तीन महिना यताको एउटा प्रस्तावलाई हेर्ने हो भने माओवादीभित्र प्रचण्डको प्रस्तावमा धेरै नेताहरू असहमत रहेका छन् । विधान संशोधन गरेर भए पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने प्रचण्डको प्रस्तावमा माओवादी नेताहरू सहमत हुन सकेनन् । जसले गर्दा तत्कालका लागि पुनलाई पार्टीमा जिम्मेवारी दिने विषयमा माओवादी नेतृत्व पछि हटेको छ ।

पदाधिकारी बैठकमा सहभागी हुन थालेका पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने प्रचण्डको तयारी थियो । तर उनको मनोनयन विधानविपरीत हुने र उपराष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउँदा गलत सन्देश जाने तर्क पार्टीभित्रैबाट नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल लगायतका नेताहरुले उठाएपछि उनी पछि हटेका छन् । तर उनलाई के गर्ने भन्नेबारेमा मौन रहेका छन् ।

स्थायी समिति बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्मानित पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु गलत हुने बताएका थिए । बैठकमा अञ्जना विशंखेले पनि पूर्वउपराष्ट्रपति पुन पार्टी राजनीतिमा आउन लागेको सन्दर्भमा प्रश्न उठाएकी थिइन् । नेताहरू सुदन किराती, इन्द्र आङ्बो, लेखनाथ न्यौपाने, कुलप्रसाद साम्बालगायत नेताहरूले पूर्वउपराष्ट्रपति सम्मानित अवस्थामै रहनु उचित हुने बताएका थिए ।

दुई कार्यकाल उपराष्ट्रपति भएका पुनलाई प्रमुख प्रतिपक्ष दल माओवादीले उपाध्यक्ष बनाउने गृहकार्य थालेदेखिनै माओवादीमा असन्तुष्टि चुलिएको थियो । युद्धकालमा विद्रोही सेनाका कमान्डर रहेका उनलाई पार्टीमा फर्काउन माओवादीले उपाध्यक्ष क्षेष्ठको संयोजकत्वमा विधान संशोधनको समेत तयारी गरेको थियो ।

माओवादीले २७ मंसिरमा बोलाएको स्थायी समिति बैठकमा पुनको जिम्मेवारीका सम्बन्धमा छलफल गरेको थियो । तर अहिले रोकिएको छ । पुन आफैँले पार्टीमा फर्किएर काम गर्न तयार रहेको रुचि राखेका छन् । ‘सक्रिय राजनीतिमा फर्किएर काम गर्न तयार छु,’ एक स्थायी कमिटी र पदाधिकारी बैठकमा पुन आफैले पनि भनेका थिए । अध्यक्ष प्रचण्डको नेतृत्वमा गणतान्त्रिक योद्धाहरू एकजुट भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

माओवादी नेताकै हैसियतमा पुनले विगतका कमी–कमजोरीबाट शिक्षा लिँदै पार्टीलाई दृढतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । पुनसहितका नेतालाई पदाधिकारीमा फर्काउन विधान संशोधन मस्यौदा तयार पारिएको थियो । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेको कार्यदलले पदाधिकारी संख्या बढाउने गरी मस्यौदा तयार पारेको थियो । तर जो विधान संशोधनमा रहे उनीहरुले नै विरोध गरेपछि पुनको पार्टीमा सक्रिय हुने चाहानमा तुषारापात भएको छ ।

२०७२ सालमा नयाँ संविधान जारी भएपछि पुन २०७२ कात्तिक १४ मा पहिलोपटक उपराष्ट्रपति निर्वाचित भएका थिए । उनी २०७४ को निर्वाचनपछि दोस्रोे कार्यकाल पनि उपराष्ट्रपतिमा दोहोरिए । पहिलोपटक संक्रमणकालीन अवस्था भएकाले थोरै कार्यकाल सम्हालेका पुनले दोस्रोपटक भने पाँच वर्ष कार्यकाल सम्हाले । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने कानुनी प्रावधान छ । पार्टी, नेतृत्व र स्वयं पुनको चाहना र सोचले उनी सक्रिय राजनीतिमा फर्किन चाहेको नेताहरू बताउँछन् । पुन प्रचण्डका विश्वास पात्रमध्येका एक हुन् ।

प्रतिक्रिया दिनुहोस्