Logo
Logo

प्रमुख प्रशासकीय अधिकृतका लागि उपसचिवहरुको दौडधूप


6.4k
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अहिले नयाँ प्रमुख प्रशासकीय अधिकृत सरुवाको चटारो छ । सचिव भरतमणि सुवेदीको सरुवापछि निर्वाचन आयोगबाट प्रशासनिक नेतृत्वमा रविलाल पन्थ आएपछि सरुवा बेथिति रोकिने अपेक्षा गरिएको थियो । तर विगतको जस्तो अहिले पनि सामान्य प्रशासनमा सरुवाको मोलमोलाइ भइरहेको छ । संघीय मामिला मन्त्री राजकुमार गुप्ता र सचिव पन्थ, कर्मचारी प्रशासन महाशाखाका प्रमुख बलराम रिज्यालकोमा अहिले सरुवाका लागि बिचौलियाहरुको ताँती लाग्ने गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृतका लागि सरुवाको मोलमोलाई हुँदैआएको छ । काठमाडौं उपत्यकाका पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको सरुवाका लागि उपसचिवहरुसँग मोलतोल चलिरहेको छ । केही दिनअघि माघ २४ गते बढुवाको पत्र पाएका उपसचिवहरुमध्येबाट उपत्यकाका पालिकामा प्रमुख प्रशासकीय अधिकृत बन्न दौडधूप बढेको छ ।

बिचौलियामार्फत शक्तिशाली उपसचिवहरु बुढानीलकन्ठ, कागेश्वरी मनोहरा, तारकेश्वर, चन्द्रागिरी, नागार्जुन, टोखा, दक्षिणकाली, गोकर्णेश्वर लगायतका पालिकामा प्रमुख प्रशासकीय अधिकृत बन्नका लागि लाखौं लाख कबोल गरिरहेको स्रोतको दाबी छ ।

कागेश्वरी मनोहराका विवादित प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रलाई विस्थापन गर्दै आठौं तहका बिजय भट्टराई प्रशासकीय अधिकृत बन्दैछन् । कांग्रेसका नेता डा. प्रकाशशरण महतको सिफारिसमा सरुवा भएर जान लागेका भट्टराई बाणिज्य विभागमा कार्यरत छन् ।

विगतमा घरेलु तथा साना उद्योग विकास समितिमा कार्यरत रहेका भट्टराई कर्मचारी समायोजनाका बेला फाजिलमा परी सामान्यको अतिरिक्त समूहमा दरबन्दी राखी बाणिज्य विभागमा काजमा खटाइएका थिए ।

वाणिज्य विभागमा अनुगमन शाखामा रहेका भट्टराईलाई अनुगमनका नाममा ब्यापारीलाई दुःख दिएको र आर्थिक मोलमोलाइ गरेको आरोप छ । जागिरको उत्तराद्र्धमा रहेका भट्टराई कागेश्वरी मनहरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर एकाध करोड घुस संकलन गरी अवकाश हुने दाउमा छन् ।

बुढानीलकन्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सी अर्याल, टोखाका शेरबहादुर केसी १ बर्षभन्दा लामो समयदेखि कार्यरत छन् । मेयरद्वय मीठाराम अधिकारी र प्रकाश अधिकारीसँग सेटिङ मिलाएर उनीहरु ढलीमली गर्दैआएका छन् । बुनपाका अधिकांश एमालेबाटै निर्वाचित वडाध्यक्षहरु अर्यालको कार्यशैलीबाट आजित भए पनि मेयर मीठारामले उनलाई च्याप्दैआएका छन् ।

यसैगरी, कृषि तथा पशुपंछी मन्त्रालयको रिक्त कर्मचारी प्रशासन महाशाखाको सहसचिव पदमा जानका लागि दैनिकजसो कृषि मन्त्री रामनाथ अधिकारीकोमा दौडधूप भइरहेको छ । यसरी दौडधूप गर्नेहरुमा वीर अस्पतालमा कार्यरत सहसचिव अर्जुन गौतम, राष्ट्रिय योजना आयोगका सहसचिव यज्ञराज कोइराला र बाणिज्य विभागका महानिर्देशक राजन पौडेल छन् ।

कोइराला केही महिनाअघि उद्योग विभागको महानिर्देशकबाट सरुवा भएर आयोगमा गएका हुन् । कृषि मन्त्रालयका सहसचिव मदन भूजेल कामु सचिवमा बढुवा भएर मधेश प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन भइसकेपछि एक महिनादेखि कृषि मन्त्रालयमा सहसचिव पदरिक्त छ ।

प्रतिक्रिया दिनुहोस्