
काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका–५ कात्तिकेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँद्या घाइते भएका २७ जना उपचारपछि घर फर्किएका छन् । नगरकोटमा ‘पिकनिक’ खाएर आउने क्रममा बुधबार अपराह्न सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बा २ ख ७९५८ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये २७ जना अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले २७ जना उपचारपछि आज घर फर्किएको जानकारी दिए । उक्त दुर्घटनामा बसमा सवार विद्यार्थीहरु ११ वर्षीय क्रिस्चल पुरी, २३ वर्षीय सुरेश तामाङ र १४ वर्षीय शुसाङ्क डोटेलको मृत्यु भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसाङ्कको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । काँकी १६ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता बोहराले जानकारी दिए । बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि उनले बताए ।














