Logo
Logo

लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार


0
Shares

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ ।

बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै प्लेअफमा स्थान बनाएको हो । कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले २० बल अगावै ६ विकेट गुमाएर पूरा गरेको हो ।

६ खेलबाट लुम्बिनी ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । लुम्बिनीले अब लिग चरणको आफ्नो अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ ।

अर्कोतर्फ लगातार चौथो हार बेहोरेको कर्णालीको प्लेअफ सम्भावना भने कमजोर बनेको छ । सुरुवाती दुई खेलमा जित हात पारेको कर्णालीले त्यसपछि लगातार चार खेलमा पराजित भएको हो । कर्णाली ६ खेलबाट ४ अंकसहित सातौं स्थानमा छ ।

लुम्बिनीका लागि डार्शी सर्टले सर्वाधिक ४६ रन बनाए । उनी अर्धशतक बनाउनबाट ४ रनले चुके । १४औं ओभरमा आउट हुनुअघि उनले ३४ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । दिलिप नाथले अविजित २८ रनको योगदान गरे ।

सुरुवात देखि नै विकेट गुमाएपनि डार्शी सर्टले एक छेउबाट लुम्बिनीको इनिङ्स सम्हालेका थिए ।

आसिफ पौडेल र कप्तान रोहित पौडेल समान १ तथा सन्दीप जोरा ४ रनमा आउट भएपछि लुम्बिनीले १९ रनमै ३ विकेट गुमाएको थियो । सर्ट र निरोशन डिकवेला मिलेर चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे ।

डिकवेलाले १३ बलमा २ चौका मदतमा १६ रन जोडे । डिकवेला आउट भएपछि डार्शी सर्टले दिलीप नाथसँग मिलेर इनिङ्स अघि बढाएका थिए । तर सर्ट पनि आउट भएपछि दिलीप नाथले लुम्बिनीको इनिङ्स सम्हाले ।

शमिम हुसेन ५ रन जोडेर आउट भए । दिलीप नाथले २७ बल खेल्दै ४ चौका मदतमा अविजित २८ रन बनाए । उनले हुसेन तलतको बलमा विजयी चौका प्रहार गरे ।

बलिङमा कर्णालीका लागि मार्क वाटले शानदार प्रदर्शन गरे । उनले ४ ओभरमा १ ओभर मेडन राख्दै १२ रन मात्र खर्चेर ४ विकेट लिए । पवन सर्राफ र हुसेन तलतले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रनमा अलआउट भएको थियो ।

कर्णालीका लागि सोमपाल कामीले १८ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा सर्वाधिक २८ रन बनाए । हुसेन तलतले २२ बल खेल्दै २ चौका र १ छक्का मदतमा २४ रन जोडे । पवन सर्राफले २४ रन खेल्दै जम्मा १२ रन बनाए । गुल्सन झाले १३ रन जोडे ।

बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका दीपेन्द्र रावत खाता नखोली आउट भए । अरिफुल इस्लाम र दीपक डुम्रे समान ४, नया कप्तान डेभिड मिलर ५, मार्क वाट २ र नन्दन यादव ३ रन बनाएर आउट भए ।

१५ रनमै ४ विकेट गुमाएको कर्णालीका लागि पवन र सोमपालले ४० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर नियमित अन्तरमा विकेट गुमाएपछि कर्णालीको रन गति रोकिएको थियो ।

लुम्बिनीका लागि बलिङमा अभिशेष गौतम, डार्शी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले २-२ विकेट लिए । यस्तै रुबेन ट्रम्पलम्यान र शेर मल्लले १-१ विकेट लिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000