काठमाडौं । सशस्त्र प्रहरीमा पहिलो पटक आइजी राजु अर्याललाई राजनीतिक ठेस लागेको छ । आफ्नो समयको तीन वर्ष सामान्यबाहेक कही कतै देखिने गरी दाग नलागेका अर्याललाई राजनीतिक ठेस लागेको हो । सामान्यतया आफ्नो अडानमा कायम रहने र लागेको कुरा सहजै भन्न रुचाउने आइजी अर्याल यसपटक दुई एसएसपी दिपेन्द्र कुँवर र विष्णु भट्टको बढुवा सिफारिसमा नराम्रोसँग चुकेका हुन् ।

कुँवर र भट्ट दुवैले आइजीलाई राजनीतिक रुपमा दबाब दिएकै कारण अघिल्लो व्याचीभन्दा पनि फड्को मारेर डिआइजीमा बढुवा सिफारिस गराउन सफल भएका हुन् । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी)मा आफूभन्दा सिनियर टोलीलाई पछि पार्दै दुईजना एसएसपी बढुवा सिफारिस भएपछि अर्याल निराश भएका छन् । ‘यस्तो दबाब झेलेर बस्नुभन्दा बरु चाँडै घर जाने अवस्था सिर्जना भए राम्रो हुन्थ्यो’, उनले आफूनिकट केही अधिकारीसँग गुनासो गरेका छन् ।
पहिलो ब्याच र त्योभन्दा अगाडि रहेका एसएसपीलाई पछि पार्दै दोस्रो ब्याचका दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट बढुवा सिफारिसमा परेका छन् । पहिलो नम्बरमा बढुवा हुने कृष्ण ढकाल भने एसएसपीमा पनि दोस्रो नम्बरमा थिए ।
डीआइजीमा दोस्रो नम्बरमा सिफारिस भएका दीपेन्द्र कुँवर र तेस्रो नम्बरमा सिफारिस भएका विष्णुप्रसाद भट्ट शक्तिका आडमा बढुवा भएका हुन् । कुँवरलाई बूढानीलकण्ठ र भट्टलाई बालुवाटारले डीआइजीमा बढुवा गरेको हो । पहिलो नम्बरमा बढुवा भएका ढकाल पनि मुख्यसचिवको जोडबलले सिफारिसमा परेका हुन् ।
२०५९ कात्तिक २७ गते सशस्त्रमा पहिलो भर्ना गरिएको थियो । दोस्रो ब्याच त्यही वर्ष चैत ७ गते भर्ना भएको हो । त्यसअघि भने नेपाली सेना र नेपाल प्रहरीबाट गएका अधिकृतहरू मात्रै थिए ।
एसएसपीमध्ये पहिलो नम्बरमा रहेका कृष्णराज पाठक बढुवामा छुटेका छन् । उनले स्टाफ कलेज गरेका छैनन् । नेपाल प्रहरी र नेपाली सेनाबाट आएका अधिकारीहरूका लागि स्टाफ कलेज अनिवार्य छैन ।
पाठकलाई यसअघि पनि दुई पटकको बढुवामा छुटाइएको थियो । यसअघि पहिलो ब्याचका ५ जना एसएसपीहरू उनलाई उछिनेर डीआइजीमा बढुवा भएका थिए ।
यसपटक पाठकलाई सि सं २ को टोलीका पनि २ जनाले उछिनेका छन् । पहिलो ब्याचमा मनिष थापा पनि बढुवामा छुटेका छन् । उनकै ब्याचका ६ जना डीआइजी भइसके पनि उनलाई भने पछिल्लो टोलीले शक्ति प्रयोग गर्दा छुटाइयो । एसएसपीमा तेस्रो वरियतामा रहे पनि उनलाई यसपटक बढुवामा छुटाइएको छ । थापाले स्टाफ कलेज पनि गरिसकेका छन् ।
एसएसपीमा चौथो नम्बरमा रहेका विनोदराज श्रेष्ठ र पाँचौँ नम्बरमा रहेका प्रकाश थापा बढुवा हुन सकेनन् । उनीहरू पहिलो ब्याचकै भए पनि स्टाफ कलेज गरेका छैनन् । उनीहरूभन्दा पछाडिका एसएसपी प्रविणराज कँडेल पनि बढुवा हुन सकेनन् । उनी पनि सशस्त्रमा भर्ना भएको दोस्रो ब्याचभन्दा अगाडिका हुन् ।
एसएसपीमा सातौँ र आठौँ नम्बरमा रहेका कुँवर र भट्ट भने डीआइजीमा सिफारिस भएका छन् । रवि लामिछानेको गोप्य सुत्र प्रयोग गर्ने नुवाकोटे भट्टले नुवाकोटे एमालेकै फेरो समातेका थिए ।
यसपछि सशस्त्र प्रहरीमा वैशाखमा मात्रै एकजना डीआइजीका लागि पद रिक्त हुँदैछ । अहिलेकै व्यवस्था रहे वैशाखमा एआइजी चन्द्रप्रकाश गौतम अनिवार्य अवकाशमा जानेछन् । उनको अवकाशपछि हालका एकजना डीआइजी एआइजीमा बढुवा हुनेछन् । त्यसपछि रिक्त कोटामा हालका एसएसपीमध्ये एकजना बढुवा हुनेछन् । त्यसपछि असोजमा डीआइजी कालीदास धौवजी अवकाशमा जानेछन् ।
सशस्त्र प्रहरीमा भदौ १६ गतेदेखि नै दुई डीआइजीको दरबन्दी रिक्त भए पनि माघमा किशोर प्रधान अवकाश भएपछि मात्रै बढुवाको सुरुसार चलेको हो । अहिले पहिलो नम्बरमा बढुवा सिफारिस भएका ढकाल आफ्नो ब्याचबाट दोस्रो लटमा मात्रै परे । उनको ब्याचबाट यसअघि नै ५ जना डीआइजी भइसकेका छन् । दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका कुँवर र भट्ट भने आफ्नो ब्याचबाट नेतृत्वमै पुग्ने गरी अगाडि लागेका हुन् ।
तर उनको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको बताइएको छ । यदि उनले यो विषयमा छानबिनपछि सफाई पाएमा कुँवर र भट्ट मध्ये एकजना आइजी हुनेछन् ।
हालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको चार वर्षे कार्यकाल २०८३ वैशाखमा सकिन्छ । त्यसपछि अहिलेकै अवस्थामा एआइजी नारायणदत्त पौडेल २२ महिना आइजी बन्नेछन् । माघमा मात्रै डिआइजीको पदावधि एक वर्ष थपिएका कमल गिरी र गणेश ठाडा मगर आगामी वैशाखमा एआइजीमा बढुवा भएमा उनीहरू मध्ये जो एआइजीमा बढुवा हुन्छ उही पौडेलपछि आइजी बन्नेछ ।











