Logo
Logo

यो देश बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन : प्रधानमन्त्री


252
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दिगो आधार तयार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भर्खरै सम्पन्न गरेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूका प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्तालाई आकर्षित गर्न सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रममा इच्छुक प्रस्तावकबाट छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

उनले अहिले संसार ग्लोबल भिलेज बनेकाले व्यवसाय, रोजगारी र अध्ययनका लागि जतिसुकै विकसित र धनी देशका नागरिक पनि आफ्नो रुचिअनुसार विदेश जाने सिलसिला विश्वव्यापी रहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘देशका युवा बाहिरिए भन्ने कुरालाई पूरै नकारात्मक रूपमा बुझ्नु हुँदैन । व्यक्तिगत तवरमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रूपमा भने त्यसलाई नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको छ ।’

उनले हिजोसम्म जीवन निर्वाहका लागि सीमित विकल्प भएको बताउँदै भने, ‘तर, आज त्यो फराकिलो भएको छ । संसारको जुनसुकै कुनामा जान सक्ने छनोटको लाभ हाम्रा युवाहरूले पनि लिएका छन् । यसो भनेर हामी युवाहरूलाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने कुरामा केही कामै नगरी बसेका छैनौँ । यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्