काठमाडौं । युवा स्वास्थ्यमन्त्री प्रदीप पौडेल भक्तपुर क्यान्सर अस्पतालको घटनाले असफल र बदनाम भएका छन् । पौडेल स्वास्थ्यमन्त्री नियुक्त हुनासाथ भक्तपुर क्यान्सर अस्पतालमा १०औँ तहको कर्मचारीलाई कार्यकारी प्रमुख नियुक्त गर्नु पर्नेमा उनले नवौँ तहका कर्मचारी उज्वल चालिसेलाई निरन्तरता दिँदा विवादमा आएका हुन् ।

चालिसे निमित्त कार्यकारी प्रमुखमा नियुक्त हुँदादेखि नै त्यस अस्पतालका चिकित्सक कर्मचारीहरू उक्त नियुक्तिको विरोधमा थिए । प्रशासनिक निर्णय क्षमता नभएका चालिसेले जथाभावी कर्मचारी नियुक्त गर्नुका साथै आवश्यक उपकरण खरिद गर्ने नाममा बिचौलियाहरू सँग साँठगाँठ गरेका छन् ।
अस्पतालमा कर्मचारी भर्ना र सरुवा–बढुवा गर्न पदपूर्ति समितिको अनुमति लिनुपर्ने र बोर्डबाट पास गराउनुपर्नेमा चालिसेले जथाभावी कर्मचारी भर्ना गर्दा पटक पटक त्यहाँका कर्मचारीहरूले आन्दोलन गर्नु परेको छ ।
अहिले पनि नवौँ तहबाट आफै १०औँ तहमा बढुवा हुने दाउमा चालिसे छन् । उनले सात दिने सूचना प्रकाशित गरेर आफू बढुवा हुन खोजेको थाहा पाएपछि त्यहाँका कर्मचारीहरू रुष्ट बनेका छन् । चालिसेको उक्त क्रियाकलापको विरुद्ध १६ जना चिकित्सक कर्मचारीहरूले पदपूर्ति समितिमा उजुरी गरेका छन् ।
एउटा सामान्य अस्पतालको समस्या समाधान गर्न नसक्ने स्वास्थ्यमन्त्री पौडेलले देशभरीकै सरकारी अस्पताल कसरी सञ्चालन गर्लान भन्ने प्रश्न त्यहाँका कर्मचारीहरूले गरेका छन् । अहिले अस्पतालमा सञ्चालक समितिको अध्यक्ष रिक्त छ । सञ्चालक समितिको अध्यक्ष रिक्त भएका बेला आफ्नो बढुवा गरेर मन्त्रीबाट अनुमोदन गराउन चालिसेले बढुवाको सूचना प्रकाशित गरेको आरोप छ ।
क्यान्सर अस्पतालजस्तो ठाउँमा १०औँ तहको कर्मचारी प्रमुख नियुक्त गरेर अस्पताललाई प्रविधिमैत्री बनाउदै क्यान्सरका बिरामीको उपचारमा चिकित्सकहरूको मनोबल बढाउनुपर्नेमा स्वास्थ्यमन्त्री पौडेल चुकेका छन् । चालिसेले मन्त्री पौडेललाई आफ्नो मान्छे भन्दै बदनाम गर्दै हिडेका छन् । मन्त्रीकै आडमा उनले जथाभावी निर्णय गर्दा मन्त्री पौडेलको छविमा दाग लागेको छ ।











