Logo
Logo

शिक्षक आन्दोलन : सात बुँदे प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी


3.2k
Shares

काठमाडौं । सरकारले शिक्षकहरूले अघि सारेका मागहरूमध्ये केही माग सम्बोधनका लागि मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सात बुँदे प्रस्ताव तयार गरेर आज बस्ने मन्त्रिपरिषद बैठकमा लैजाने तयारी भइरहेको जानकारी दिएको हो ।

सात बुँदे प्रस्तावमा आन्दोलनरत शिक्षकहरूको तर्फबाट समेत सहमति जनाइएको शिक्षा मन्त्रालयको भनाइ छ । तर शिक्षा मन्त्रालयले आफूखुशी सात बुँदे प्रस्ताव तयार गरेको नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न वैशाख १२ गते संसद्को अधिवेशन आह्वान गरिएको छ । यही अधिवेशनमा विधेयक पेश गर्ने तयारी सरकारको छ । त्यसका लागि संसद्को शिक्षा समितिअन्तर्गत उपसमितिमा छलफल भइरहेको छ ।

गएको वर्षको असोजमा सरकारले गरेको ११ बुँदे सहमति कार्यान्वयन गर्दै छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरु विगत २० दिनदेखि काठमाडौको सडकमा आन्दोलित छन् । यसअघि दिउँसो १२ देखि ३ बजेसम्म आन्दोलन गर्दै आएका शिक्षकहरूले अब भने बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म आन्दोलन गर्न थालेका छन् ।

दिउँसोको समयमा सर्वसाधारणलाई मात्रै दुःख भएकाले विशेषगरी सरकारी कर्मचारी, नेता, सांसद, मन्त्रीलाई पनि अवरोध गराउने उद्देश्यले बिहान आन्दोलन शुरू गरेको शिक्षकहरूको भनाइ छ । सरकारले विभिन्न बहानामा आन्दोलन रोकेर शिक्षकहरूलाई विद्यालय फर्किन आग्रह गरे पनि विधेयक हातमा नपरेसम्म नफर्किने उनीहरूको अडान छ ।

प्रतिक्रिया दिनुहोस्