काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले सही नेतृत्व पायो भने काम गर्न सक्दोरहेछ भन्ने पुष्टि भएको छ । राजन पौडेल महानिर्देशक हुँदा चिरनिद्रामा सुतेको बाणिज्य बिभागको महानिर्देशकमा कुमार दाहाललाई नियुक्ति गरेपछि बजार अनुगमनलाई तीव्रता दिइएको छ ।

श्रीराम टोबाकोबाट उत्पादित चार प्रकारका गुट्खामा उत्पादन, उपभोग्य मिति उल्लेख नभएको र तोकिएभन्दा कम तौल भेटिएको छ । वाणिज्य बिभागले गएको बैशाख २ गते मंगलबार अनुगमन गर्दा श्रीराम टोबाटोबाट उत्पादित करेन्ट गुट्खा, भोला गुड्खा, पावार खैनी र जित खैनी चारै ब्राण्डका गुट्खामा उत्पादन, उपभोग्य मिति र तोकिएभन्दा कम तौल भेटिएको थियो ।
विभागले ललितपुरको सानोपामा रहेको पशुपतिनाथ इन्टरनेशनल विजनेश प्रालि नाम रहेको उक्त कम्पनी बुटवलमा उत्पादित गुट्खाको आधिकारिक डिलर हो । पशुपतिनाथ इन्टरनेशनल विजनेश प्रालिले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेगरी चार जिल्लाको डिलर सिपको जिम्मा पाएको छ ।
सबै ब्राण्डबाट कम्तीमा २०÷२५ वटा गुट्खाको परीक्षण गरेको थियो । प्याकेटमा २.१४ ग्राम उल्लेख गरिएको थियो, तर तौलँदा गर्दा उक्त तौल नै भेटिएन । एक÷दुई वटामा केही कैफियत होला भनेर अन्यको समेत परीक्षण गर्दा सबैमा एउटै तौल भेटिएको बिभागले जनाएको छ ।
बाणिज्य बिभागका महानिर्देशक कुमारप्रसाद दाहालले ३ दिनअघि नेपाल टोबाकोमा सिलबन्दी गरी संचालकलाई बयानमा बोलाइएको बताए । उनले दृष्टिसँग भने–‘ठूलै हेराफेरीको सूचनाका आधारमा नेपाल टोबाको कम्पनीको ललितपुरस्थित डिलरमा बिभागले सिलबन्दी गरेको छ । अनुसन्धान भइरहेको छ ।’
अरबौंको करछलीमा श्रीराम टोबाको
अरबौंको कारोबार गर्ने तर करयोग्य रकम भने करोडको मात्र देखाउने कमलकिशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेलको श्रीराम टोबाको कम्पनीको मुख्य बिक्रीस्थलमै छापा हानिएको छ । गतहप्ता बाणिज्य बिभागको टोलीले छापा हानेको हो ।
आइतबारसम्म कमल मालपानी बिभागको सम्पर्कमा नआएपछि कागजातसहित ३ दिनभित्र उपस्थित हुन महानिर्देशक दाहालले पत्र काटेका छन् । भोला, करेन्ट जस्ता गुट्खा उत्पादन र बिक्री बितरणमा श्रीराम टोबाको एकाधिकार छ । राजनीतिक र प्रशासनिक आडमा अरबांै करछली गर्नेमा आएका मालपानी र पौडेलको समूह पर्दछ । मुख्य गोदाम र बिक्रीस्थलमै सिलबन्दी गरिएपछि मालपानीको समूह कर तिर्ने र ब्यवसाय पारदर्शी ढंगले संचालन गर्ने होइन, अर्थमन्त्री बिष्णुप्रसाद पौडेलदेखि प्रधानमन्त्रीको सचिवालयसम्म सिलबन्दी खोलाउन र कारबाही रोकाउन चलखेलमा लागेको छ ।
अर्थ र राजस्वमा लामो समय बसेका पूर्व र वर्तमान उच्चपदस्थ कर्मचारी, निलम्बित एक सहसचिवसमेत मालपानीको पक्षमा लबिङ गर्दै सिलबन्दी खुलाउन लागिपरेका छन् । तर महानिर्देशक दाहाल भने सिलबन्दी खोलेर करछलीका प्रमाण लुकाउन दिने पक्षमा छैनन् । उनी कसैसामु नझुक्ने प्रशासकका रुपमा चिनिन्छन् । आन्तरिक राजस्व कार्यालय बुटवलको प्रमुखमा बसिसकेका राजस्व समूहका उपसचिव ध्रुव पोखरेल उनलाई जोगाउन बढी सक्रिय भएका छन् ।
समाचार स्रोतका अनुसार, श्रीराम टोबाको कम्पनीले गुट्खा र सूर्ती उत्पादन गरी राजस्व छली गरेको प्रमाण भेटिएपछि राजस्व अनुसन्धान विभागले २०७६ पुसमा काठमाडौं र रुपन्देहीमा मुद्दा दायर गरेको थियो । विभागले बुटवल नगरपालिका–१२ मा रहेको श्रीराम टोबाकोलाई १० करोड ७३ लाख बिगो कायम गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
कम्पनीका संचालक कमलकिशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेल लगायतले कम्पनीबाट उत्पादन हुने अन्तःशुल्क लाग्ने सूर्तीजन्य पदार्थको उत्पादन कम देखाई विभिन्न बिक्रेताहरुको सहयोगमा स्टीकर र कर बिजक बिना मालवस्तु बिक्री गरेको पाइएको विभागले जनाएको थियो ।
भोला र करेन्ट ब्रान्डका अलावा कमलकिशोर मालपानी र पौडेल बन्धुले नेपाली बजारमा अरु विभिन्न नामका गुट्खा र सुर्ती बिक्री गरी राजस्व मार्ने काम गर्दैआएका छन् ।
भारतीय राज्य बिहार र उत्तर प्रदेशमा प्लाष्टिकको प्याकेटमा सूर्ती र गुट्खा बिक्री गर्न प्रतिबन्ध लागेपछि मालपानीहरुले नेपालबाट भारततर्फ सुर्ती र गुट्खा तस्करी समेत गर्दैआएका छन् । भारतीय बजारमा गुट्खाको माग बढी छ ।
श्रीराम टोवाको कम्पनीबाट उत्पादित भोला र करेन्ट गुट्खाको अवैध कारोबार गर्दै करोडौैं राजस्व ठगी गर्दैआएका मालपानी र पौडेलले आफ्नो कर्तुत ढाकछोप गर्नका लागि रुपन्देहीकै बालकष्ण खाँण गृहमन्त्री भएको बेला पैसा खर्च गरी बिभूषित भएका थिए ।
श्रीराम टोबाको कम्पनीका संचालक कमलकिशोर मालपानी, चुन्नुप्रसाद शर्मा पौडेल र नरिश्वर पौडेललाई गृहमन्त्री खाणकै सिफारिसमा २०७८ को जनसेवाश्री विभूषणबाट बिभूषित गरिएको थियो । घुस खुवाएर नेपालीलाई भूटानी बनाएका खाँणले कमलकिशोर मालपानी जस्ता राजस्वमारालाई घुस लिएर बिभूषण दिएको आरोप लागेको थियो ।
अन्तःशुल्क लाग्ने सुर्तीजन्य पदार्थको उत्पादन कम देखाई विभिन्न बिक्रेताको सहयोगमा स्टिकर, कर बिजक बिना बिक्री वितरण गरको विभागले गरी श्रीराम टोबाकोले अरबौंको करछली गरेको आशंका बाणिज्य बिभागले गरेको छ ।
सर्वोच्च अदालतले १४ पुस २०७० मा खैनी, चुरोट, गुट्खा, बिडी लगायत सूर्तीजन्य उत्पादनको बट्टाको ७५ प्रतिशत भागमा क्यान्सरले फोक्सो कुहिएको रंगीन चित्र राख्नुपर्ने फैसला सुनाए पनि श्रीराम टोबाकोले त्यसबिपरीत उत्पादन गर्दै बिक्री बितरण गरिरहेको छ ।
गुट्खामा अन्तःशुल्क स्टीकरदेखि अरबको कारोबार करोडमा मात्र देखाएर करछली गर्दैआएको श्रीराम टोबाकोका कमलकिशोर मालपानी र चुन्नप्रसाद पौडेलको समूहले सुपारी तस्करी समेत गर्दैआएको छ । श्रीराम टोबाकोल २०७९ मा २३ सय मेट्र्रिकटन सुपारी आयातको प्रक्रिया अघि बढाएको थियो । यत्रो परिमाणमा सुपारी आवश्यक नै नभए पनि उसले भारततर्फ तस्करीकै लागि गुट्खा उत्पादनका नाममा आयात गर्दैआएको छ ।
त्यसैगरी, बाणिज्य बिभागले करिब एक सयको हाराहारीमा छालाम्बन्धी रोगको औषधि बिक्री केन्द्रमा अनुगमन गरी ब्यापक छानबिन गरिरहेको छ । छालारोग बिशेषज्ञ डा. अनिलकुमार झाको स्कीन अस्पतालमा रहेको फार्मेसीदेखि काठमाडौं उपत्यकाका छालासम्बन्धी औषधि बिक्री गर्ने पसलहरुको अनुगमन गरी कागाजत नियन्त्रणमा लिएको छ ।
बिगतमा खाद्यान्नको कारोबार गर्ने किराना पसलहरुमा सीमित रहँदै आएको बाणिज्य बिभाग दाहाल आएपछि जनस्वास्थ्यसँग सम्बन्धित अरबौंको कारोबार गर्ने औषधिदेखि सूर्तीजन्य पदार्थको अनुगमन सुरु गरेको छ । बाणिज्य बिभागको कामकारबाहीप्रति पछिल्लो समय सन्तुष्ट देखिएका मन्त्री भण्डारी उद्योग बिभागको कामकारबाहीमा त्यति सन्तुष्ट नरहेको बताइन्छ ।











