काठमाडौं । सशस्त्र प्रहरीमा २१ दिन आइजीपी भएर बिदा भएका पुष्पराम केसी एमालेको जनवर्गीय संगठनमा आवद्ध भएका छन् । नुवाकोटे केसी एमालेकै कारण आइजीपी भएका थिए । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा उनी आवद्ध भएका छन् ।

नुवाकोटका पूर्व आइजीपी केसी एमालेकै कारण २१ दिने संगठन प्रमुख भएका थिए । उनकै व्याची शैलेन्द्र खनाल भने हाल अमेरिका रहेका छन् । केसी भने एमालेको जनवर्गीय संगठनमा आवद्ध भएर राजनीतिमा होमिएका हुन् । पूर्वआइजीपी सर्वेन्द्र खनालले पार्टी छाडेपछि केसी भित्रिएका हुन् ।
नुवाकोटमा एमालेको तर्फबाट बलियो नेता नभएको अवस्थामा केसी सक्रिय हुनुलाई अर्थपूर्ण मानिएको छ । नेपाल प्रहरीबाट एमालेमा गएका खनालले दुई पटक संसदीय निर्वाचन लड्ने सुखद अवसर पाएका थिए । अहिले आफै पार्टी खोल्ने लाइनमा लागेका छन् । केसी भने एमालेबाटै राजकीय पदमा पुग्ने अपेक्षाका साथ एमालेमा गएको स्रोतको दावी छ ।
एमालेभित्र बागमती प्रदेशको सचिवमा पूर्वडिआइजी नवराज सिलवाल रहेका छन् । तत्कालीन समयमा आइजीपी हुन नपाएपछि एमालेको राजनीतिमा छिरेका सिलवालले ललितपुरबाट सांसद हुने अवसरसमेत पाएका थिए । सिलवालपछि एमालेको राजनीतिमा छिरेका खनाल भने सफल हुन सकेनन । केसीले भने परीक्षण गर्न बाँकी नै रहेको छ ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा (नेपोन)को भेटरन कमिटी आयोगमा संयोजकमा केसी रहेका छन् । ‘उहाँलाई सम्मानपूर्वक जनवर्गीय संगठनमा राखिएको छ’ एमालेका एक नेताले भने । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवं एमाले उपमहासचिव विष्णु रिमालसँग निकट रहेका केसी आगामी ०८४को निर्वाचनको तयारीका लागि अघि बढ्न सक्ने संभावना रहेको नुवाकोटका एमाले नेताहरूको आकलन रहेको छ ।
नेपोनको अध्यक्षमा भने सहायकर रथि विनोद पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । छैटौँ राष्ट्रिय महाधिवेशनले नेपाली सेनाका अवकाशप्राप्त जर्नेल पाण्डेलाई पुनः अध्यक्षमा सर्वसममत निर्वाचित गरेको हो ।
महाधिवेशनले उपाध्यक्षमा क्याप्टेन लालकाजी गुरुङ, महासचिवमा मदन केसी र उपमहासचिवमा तीर्थराज घिमिरे निर्वाचित गरेको थियो । त्यस्तै, सचिव (संगठन विभाग)मा केदारप्रसाद देवकोटा, सचिव (विदेश विभाग)मा नारायणबहादुर श्रेष्ठ, सचिव (प्रचार विभाग)मा ध्रुवराज कार्की र सचिव (अर्थ)मा चन्द्रकुमार महतरा निर्वाचित भएका छन् ।
महाधिवेशनबाट ६ वटा आयोगले पनि नेतृत्व पाएको छ । लेखा आयोग अध्यक्षमा मनोहरि कार्की, अनुशासन आयोगमा मिठाराम केसी, भेटरन कमिटी आयोगमा पुष्पराम केसी, सुरक्षा तथा स्वयंसेवक आयोगमा उद्धव रावल, निर्वाचन आयोगमा सुधीर थापा र सल्लाकार आयोगमा रवीन्द्र कार्की निर्वाचित भएका हन् । महाधिवेशनबाट पदाधिकारीसहित ९९ सदस्यीय कमिटी गठन भएको छ ।











