काठमाडौं । शक्तिको आँडमा सशस्त्रभित्र हालीमुहाली गर्ने डिएसपी गणेश मल्ल यतिबेला अर्को शक्ति केन्द्रको खोजीमा लागेका छन् । जता शक्ति छ उतै ढल्कने र शक्तिको आडमा लेखा चलाइरहने बानी परेका मल्ल यसपटक भने सशस्त्रभित्र ‘राष्ट्रिय ज्वाइ’को उपमा पाएका डिआइजी दीपेन्द्र कुँवरको निजी एकाउण्टेण्टको रुपमा देखा पर्न थालेका छन् ।

केन्द्रीय लेखामा बसेर आर्थिक अपचलनका ‘मास्टर माइण्ड’ मानिएका लेखाका डिएसपी मल्ल यतिबेला सशस्त्र प्रहरी अस्पतालमा बसेर हालीमुहाली गर्ने विरलै पाइने पात्र मध्ये एक हुन् । सशस्त्र प्रहरी अस्पतालले गर्ने विभिन्न सामाग्री खरिदको सेटिङदेखि ठेकेदारसँगको मिलेमलोमा आर्थिक लाभ हात पारिरहेका छन् ।
विगतमा सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक शैलेन्द्र खनालको प्रिय पात्र भएर काम गरेका मल्ल केही समय राजु अर्याल आइजी भएपछि पनि केन्द्रीय लेखामै रहेका थिए । तर उनले आइजीलाई टाढा राखेर सरुवा, बढुवा र सामान खरिदमा विचौलियाको रुपमा काम गर्न थालेको थाहा पाएपछि अस्पतालमा सरुवा गरिएको थियो । विगत लामो समयदेखि त्यहाँ रहेका डिएसपी मल्लले अस्पतालबाट हुने हरेक खरिदको भुक्तानीमा ठेकेदारहरूसँग बार्गेनिङ गर्ने गरेको एक ठेकेदारले बताए ।
इन्स्पेक्टर हुँदा केन्द्रीय लेखामा रहेका गणेश मल्ललाई एक नम्बरमा बढुवा भएका थिए । मल्ल त्यतिबेला देखि नै आर्थिक रुपमा बदनाम थिए । उनीविरुद्ध अकुत सम्पति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन समेत गरिरहेको छ । त्यतिबेला मल्लले सशस्त्र प्रहरीमा बजेट मात्र नभई सरुवा बढुवामा समेत आइजीपीले थाह पाएर वा नपाएर विचौलियाको काम गर्दै आएका थिए ।
अहिले पनि उनको सम्बन्ध केही एआइजीसँग राम्रो रहेको छ । आइजी अर्यालसँग भने उनको भेटघाट छैन । पछिल्लो पटक डिआइजी दीपेन्द्र कुँवरसँग निकै हिमचिम रहेको छ । ‘कुँवरकै निजी एकाउण्टेण्टको भूमिकामा छन्’, एक लेखा अधिकृतले भने ‘पछिल्लो पटक कुँवरले आयोजना गरेको चिया चमेना कार्यक्रममा डिएसपी मल्ल छुट्दैन र बील भुक्तानीको काम पनि उनैले गर्दै आएका छन ।’
तत्कालीन समयमा इन्स्पेक्टर गणेश मल्लकै सहयोगबाट चिरन्जीवी अधिकारीको कम्पनीलाई काँडेतार (कन्सर्टिना वायर)को २० लाखका दरले ठेक्का दिएको विषयमा अख्तियारमा उजुरीसमेत परेको थियो । कन्सर्टिना वायर हेडक्वाटरबाट सोझै खरिद नगरी गणमा बजेट पठाउने र त्यहाँबाट किनेको देखाउने गरी मिलाइएको थियो ।
त्यसको केही समयपछि सशस्त्र मुख्यालयको आर्थिक प्रशासनमा सेटिङ मिलाई गणमा बजेट पठाई चिरन्जीवी अधिकारीको कम्पनीलाई ५० लाख रुपैयाँको कन्सर्टिना वायरको ठेक्का दिएको विषयले पनि निकै चर्चा पाएको थियो । त्यतिमात्र होइन सशस्त्रकै एसपी प्रमोद भारतीका दाजु ३७ हजार सेट ट्रयाकसुट खरिद गर्नका लागि मनोज भारतीलाई दिएको विषयमा पनि अख्तियारले छानबिन गरिरहेको छ । यसका पनि डिएसपी मल्ल मुछिएका छन् ।











