Logo
Logo

‘ओलीविनाको एमालेको कल्पना पनि सम्भव छैन’


441
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू विना एमालेको कल्पना असम्भव रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसको अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो उमेर र स्वास्थ्यप्रति चिन्ता नगर्न आग्रह गर्दै भने, ‘कतिपयलाई मेरो उमेर र स्वास्थ्यको चिन्ता छ, तर अहिले म पूर्ण रूपमा स्वस्थ छु। अबका २०–२५ वर्षपछि मात्र म बुढो हुन्छु। त्यसैले हतार गरेर ओलीविनाको एमाले कल्पना गर्नुको कुनै अर्थ छैन । त्यो कल्पना कहिल्यै पूरा हुने छैन।’

उनले एमाले विना देशको कल्पना गर्नु पनि गलत भएको उल्लेख गरे। ‘केपी ओलीविनाको एमाले किन चाहियो भन्ने सोच्नेहरू छन् । यदि उनीहरूको मनसाय राम्रो हुन्थ्यो भने म स्वयं बाटो खुला गरिदिन्थेँ। तर एमालेविनाको नेपाल कल्पना गर्नु अनुचित हो । मिसन २०८४ मा हामी झनै बलियो भएर फर्किनेछौं,’ प्रधानमन्त्री ओलीले दोहोर्‍याए ।

कार्यक्रममा अध्यक्ष ओलीले एमाले अब अस्तित्वको लडाइँमा नभई विजयको यात्रामा रहेको उल्लेख गर्दै मिसन २०८४ बाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा प्रस्तुत गर्ने दाबी पनि गरे ।

उनले राष्ट्रविरोधी शक्तिहरूले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाए। ‘हाम्रो पार्टी दुईतिहाइको अवस्थामा पुगेको बेला पनि षड्यन्त्र गरी विभाजन गरियो। तर, हामीले आन्दोलन पुनर्गठित गर्दै जनतामाझ एमालेलाई फेरि लोकप्रिय पार्टीका रूपमा स्थापित गरेका छौं,’उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्