
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी प्रिसा साहको अन्येष्टि गरिएको छ ।
यही वैशाख १८ गते केआईआईटीको होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी साहको शनिबार साँझ भारतको पुरी स्वर्गद्वारमा अन्त्येष्टि गरिएको हो । अन्तयेष्टिका बेला प्रिसाका आमाबाबु, विश्वविद्यालय प्रशासनका सदस्यहरू र उनका साथीहरू उपस्थित थिए ।
केआईआईटीमा बीटेक कम्प्युटर साइन्स इन्जिनियरिङ प्रथम वर्षकी छात्रा प्रिसा वीरगन्ज महानगरपालिका–१५ स्थित भिस्वा टोलकी वासिन्दा हुन् । उनले किन आत्महत्या गरिन् भन्नेबारे केही खुलेको छैन । प्रिसा ‘आत्महत्या’ घटनाबारे ओडिसा प्रहरीले अनुसन्धान गरिरहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।














