काठमाडौं । कुनै बेला तालिममा रहेका प्रहरी निरीक्षकहरु दरबारमार्गस्थित एक डान्सबारमा पसेर मदिरा सेवन गरी ट्याक्सी चालकसँग विवाद गर्दा भोलीपल्ट मूढा बोकेर सजाय भोगेका थिए । यो घट्ना करिब दुुइदशक अघिको हो । त्यो बेला काठको मूढा बोकेर सजाय भोगका ती अधिकृतहरु अहिले विवादरहित अधिकृतका रुपमा गनिएका छन् ।

उनीहरुले नै अहिले आएर डिआइजीको दावी गरिरहेका छन् । उनीहरुको त्यो घट्ना सम्झाउने गरी मोरङको विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीनजना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर)बिच कुटाकुट गर्दा कसैको नाकीडाँडी नै भाचिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रमुख इन्स्पेक्टर राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका सरोज खनाल र इलाका प्रहरी कार्यालय रंगेलीका सन्तोष खड्काबिच कुटाकुट भएको थियो । उनीहरु तीनैजना खानपानको लागि भनेर साँझपख एक होटलमा पुगेको बेला एकअर्काबीच भनाभन हुँदा हात हालहालको अवस्थामा पुुगेका थिए । खानपिनको क्रममा मदिरा सेवनपछि आपसी भनाभन भएपछि हात हालाहालको स्थिति बनेपछि प्रहरीले नै बोलाएर रेस्क्यू गरिएको थियो ।
सुरुमा इन्स्पेक्टर लम्सालले खनाल र खड्कामाथि हातपात गरेका थिए । अवस्था बिग्रिएपछि इन्स्पेक्टर खनालले जिल्ला प्रहरी कार्यालयबाट युनिटनै बोलाएका थिए । यूनिट आएपनि उनी आफै उक्सेर अरु दुुईमाथि आक्रमण गरेका थिए । लम्सालले पनि प्रहरी माथि आक्रमण गर्दा थप घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिँदै खनाल र खड्काले त्यहाँ आएका प्रहरी टोलीको सहयोगमा लम्साललाई ट्राफिक कार्यालयमा लगेका थिए । लम्सालले कार्यालयमा रहेका सहायक हवल्दार सञ्जय भट्टराईमाथि पनि हातपात गरेका थिए ।
इन्स्पेक्टर लम्सालको कुटपिटबाट भट्टराईको नाक र मुख फुटेर रगत आएको थियो । यो विषयमा प्रहरी प्रधानकार्यालय उजुरी छानबिन शाखाले पनि छानबिन गरिरहेको छ । प्रहरी प्रधानकार्यालयका एसएसपी रमेश थापा, कृष्ण कोइराला र एसपी कुमोध ढुंगलले घट्नाबारे जानकारी लिइसकेका छन् । उनीहरुले प्रहरी महानिरीक्षक दीपक थापालाई पनि रिपोटिङ गरिसकेका छन् । उनीहरुलाई के कारवाही गर्ने भन्ने बारेमा अहिले कुुनै पनि निर्णय भइनसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।











