
काठमाडौं । भारतले गएराति पाकिस्तानका ९ ठाउँमा आक्रमण गरेको छ । ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको हो ।
आक्रमणमा ३० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतले यसलाई कश्मीरको पलगाममा २२ अप्रिलमा भएको आक्रमणको जवाफी कारबाही भनेको छ । जहाँ एक नेपालीसहित २६ पर्यटक मारिएका थिए ।
भारतले आतंकवादी रहेको मानिएका ९ ठाउँमा आक्रमण गरेको जनाएको छ । उसले पाकिस्तानले पनि जवाफी आक्रमण गर्ने बताएको छ । बहावलपुर, कोटली तथा मुजफ्फाबादलगायत ठाउँमा आक्रमण गरिएको जनाइएको छ ।
पाकिस्तानले भने सर्वसाधारणहरूको घरमा आक्रमण गरेको आरोप लगाएको छ । पाकिस्तानी सञ्चार माध्यम पिटिभीले भारतका दुईवटा फाइटर जहाज पाकिस्तानी सेनाले झारिदिएको जनाएको छ ।
यसैबीच पाकिस्तानको लाहोर एयरपोर्टमा आपतकालीन अवस्था घोषणा गरिएको छ । मिडिया रिपोर्टका अनुसार एयरपोर्ट खाली गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।










