Logo
Logo

जेठ २ देखि मध्य पहाडमा अभियान चलाउँदै माओवादी


882
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्य पहाडमा जनतासँग माओवादी अभियान चलाउने भएको छ । हुलाकी राजमार्गकेन्द्रित ‘जनतासँग माओवादी : तराई/मधेश जागरण अभियान’ सकिएको १५ दिनपछि माओवादीले फेरि अर्को अभियान सुरु गर्ने भएको हो ।

माओवादी उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्नि सापकोटाले २ जेठदेखि सुदूरपश्चिमबाट मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सुरु हुने बताए । उनले भने, ‘पुसमा बसेको केन्द्रीय समितिले दुईवटा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । एक अभियान सकिएको छ । अर्को अभियान २ जेठदेखि सुदूरपश्चिमबाट सुरु हुनेछ ।’

यही २१ वैशाखमा बसेको माओवादीको पदाधिकारी बैठकले हुलाकी राजमार्गकेन्द्रित ‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’ को समीक्षा गर्दै मध्यपहाडी लोकमार्ग अभियान आगामी २ जेठदेखि सुरु गर्ने निर्णय गरेको छ ।

बैठकले हुलाकी मार्गकेन्द्रित अभियान राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकाले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्रकै अभियान बन्न पुगेको निष्कर्ष निकालेको थियो । अभियानपछि बैठकले माओवादीप्रति जनतमा देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल गरेको छ ।

माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियानलाई पनि सफल बनाउने र बढीभन्दा बढी जनतासँग संवाद गर्ने प्रवक्ता सापकोटा बताउँछन् । मध्यपहाडी लोकमार्गमा बैतडी, डडेलधुरा, अछाम, दैलेख, जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, पर्वत, बागलुङ, कास्की, गोरखा, नुवाकोट, धादिङ, लमजुङ, काभ्रे, सिन्धुली, ओखलढुंगा, उदयपुर, तेह्रथुम, धनकुटा, भोजपुर, पाँचथर, खोटाङ, पर्छन् । यो अभियानमा माओवादीले हरेक जिल्लामा आमसभा, भेटघाट र कोणसभा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्