काठमाडौं । नेपाल राष्ट्र बैङ्कमा गभर्नर पद रिक्त रहेको विषय बिहीबार प्रतिनिधिसभामा प्रश्न उठेको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्को बैठकमा बोल्दै राष्ट्र बैङ्कमा तत्काल गभर्नर नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले राष्ट्रबैंकजस्तो महत्त्वपूर्ण नियामक निकाय लामो समयदेखि नेतृत्वविहीन हुनु अर्थतन्त्रका लागि घातक भएको बताए । ‘नियुक्ति नहुँदा अनेक अड्कलबाजी र अप्ठ्याराहरू देखा परेका छन्,’ उनले भने ।
सांसद खतिवडाले धितोपत्र बोर्डका अध्यक्षसँग जोडिएको कमिसन काण्डप्रति पनि गम्भीर ध्यानाकर्षण गराउँदै सरकारसँग जवाफ मागेका हुन्। ‘धितोपत्र बोर्डको अध्यक्षले आईपीओ स्वीकृतिका लागि कमिसन मागेको भन्ने समाचार सार्वजनिक भएको छ,’ उनले भने, ‘सरकारले यसबारे स्पष्ट जवाफ दिनुपर्छ ।’














