काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भइरहेको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सकस परिरहेका बेला ओली र देउवा छलफलमा जुटेका हुन् ।

केही बेरदेखि भइरहेको छलफलमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि भइरहेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ। दुई नेताबीच राष्ट्र बैंकको गभर्नरमा डा. गुणाकर भट्टलाई बनाउने सहमति भएको थियो । सोअनुसार कार्यकारी निर्देशक पदबाट भट्टले राजीनामा दिइसकेका छन् ।
तर राष्ट्र बैंककी कायममुकायम गभर्नर डा। नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गर्न मानेकी छैनन् ।
राजीनामा स्वीकृत नहुँदा गभर्नर नियुक्ति अन्योलमा फसेको छ । यहीबीचमा गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि सरकारले नयाँ सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो ।
तर समितिले पूर्णता पाए पनि राजीनामा स्वीकृत नभएकै कारण बैठक बस्न सकेको छैन । यहीबीचमा स्वयं महाप्रसाद अधिकारीविरुद्ध पनि सर्वोच्चमा रिट परेको छ। गत चैत २५ गतेदेखि गभर्नर पद रिक्त छ।














