Logo
Logo

पाकिस्तानको हवाई आक्रमणबाट कश्मीरका एक उच्च अधिृकतको मृत्यु


7.8k
Shares

काठमाडौं । पाकिस्तानले गरेको हवाई आक्रमणमा परी जम्मू कश्मीर प्रशासनका एक उच्च अधिकारीको मृत्यु भएको भारतले जनाएको छ । जम्मुकश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले आज बिहान सामाजिक सञ्जाल ‘एक्स’मार्फत सो जानकारी दिएका हुन् ।

उनका अनुसार पाकिस्तानको गोलाबारीमा परी कश्मीरका अतिरिक्त जिल्ला विकास आयुक्त (एडिशनल डिभिजनल कमिस्नर) राजकुमार थापाको मृत्यु भएको छ । उनले भनेका छन्, ‘राजौरीबाट दुःखद खबर आएको छ । हामीले जम्मु–कश्मीर प्रशासन सेवाका एक समर्पित अधिकारी गुमाएका छौँ । हिजोमात्रै उनी उपमुख्यमन्त्रीसँगै जिल्लामा थिए र मेरो अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा पनि सहभागी भएका थिए ।’

उनका अनुसार पाकिस्तानले राजौरी शहरलाई लक्षित गरी गरेको गोलीबारीमा थापाको घर निशानामा परेको थियो । सोही आक्रमणमा थापाको मृत्यु भएको हो । गोलीबारीबाट अन्य क्षति भएको विवरण भने सार्वजनिक गरिएको छैन ।

भारतीय सुरक्षाफौजले गोलीबारीको जवाफ दिएको जनाएको छ । भारतले ‘अपरेशन सिन्दूर’ सुरु गर्दै पाकिस्तानमाथि हवाई हमला सुरु गरेको थियो । पाकिस्तानले त्यसविरुद्ध ‘बुनयान–उल–मरसूस’ नाममा भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको छ ।

पाकिस्तानले भारतीय हवाई सेना र मिसाइल भण्डार क्षेत्रलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । भारत र पाकिस्तानबीच शुक्रबार राति रातभरी एकअर्काबीच मिसाइल हानाहान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्