काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमण विरुद्ध पाकिस्तानले आज ‘सङ्गठित, सशक्त र निर्णायक जवाफ’ दिएको बताएका छन् । उनले पाकिस्तानमाथि आक्रमण सुरु गरिएको भारतका ठुला सैन्य संरचनाहरूलाई लक्ष्य बनाइएको जिकिर गरेका छन् ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘आज हामीले निर्दोषहरूको रगतको बदला लिएका छौँ । भारतलाई उपयुक्त जवाफ दिइएको छ ।’
शरीफले पाकिस्तानले मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको पुष्टि गर्दै यो कारबाहीलाई ‘राष्ट्रिय सुरक्षाको रक्षा’ को रूपमा प्रस्तुत गरेका छन् ।
दुवै देशका अधिकारीहरूले आक्रमणको प्रतिरक्षा गरिरहे पनि सर्वसाधारणहरू भने निकै प्रभावित भएका छन् । जम्मु९कश्मीरमा जारी तनावपूर्ण अवस्थाका कारण जम्मु रेलवे स्टेशनमा प्रवासी मजदुरहरूको भीड लागेको छ ।
भारतले पहलगाम आक्रमणको प्रतिशोधमा गरेको हवाई हमलापछि पाकिस्तानले गए राति ठुलो मात्रामा जवाफी कारबाही सुरु गर्ने निर्णय गरेको हो । दुई देशबीच तोपखानामा हमला गर्ने प्रतिस्पर्धा चलिरहेको छ । यी हमलाहरूमा अहिलेसम्म पाकिस्तानतर्फ १० भन्दा बढीको मृत्यु र ५० भन्दा बढी घाइतेको पुष्टि भएको अलजजिराले लेखेको छ ।










