काठमाडौं । भारत–पाकिस्तानबीच बढ्दो सैन्य तनावका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार उच्चस्तरीय सुरक्षा बैठक गरेका छन् । बैठकमा रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, तथा थलसेना, जलसेना र वायुसेनाका प्रमुखहरू सहभागी थिए ।

प्रधानमन्त्री कार्यालयले बैठकको विस्तृत विवरण सार्वजनिक नगरे पनि बैठकमा पाकिस्तानबाट मिसाइल र ड्रोनमार्फत भारतमा गरिएका आक्रमण र त्यसको रणनीतिक प्रतिक्रिया विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
विशेष सुरक्षा सतर्कता र सम्भावित प्रतिउत्तर रणनीतिमा केन्द्रित बैठकमा सीमाक्षेत्रको अवस्थाबारे अद्यावधिक विवरण प्रस्तुत गरिएको थियो ।
पछिल्लो समय भारत र पाकिस्तानबीचको सम्बन्ध पहलगाम हमलापछि चर्किएको हो । भारतले उक्त आक्रमणको जवाफमा स्कटिश शैलीको हवाई हमला गर्दै पाकिस्तानमा रहेको आतंकी संरचनालाई निशाना बनाएको दाबी गरेको थियो । त्यसको जवाफमा पाकिस्तानले पनि मिसाइल र ड्रोनमार्फत आक्रमण सुरु गरेको पुष्टि गरिसकेको छ ।
हाल सीमावर्ती क्षेत्रमा स्थिति तनावपूर्ण रहँदा दुवै देशका सेनाहरू उच्च सतर्क अवस्थामा छन् । अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन आह्वान गरिरहे पनि क्षेत्रीय स्थायित्वप्रति चिन्ता थपिएको देखिन्छ ।











