काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा कर्णालीको प्रसिद्ध मार्सी चामलको प्रसङ्ग उठाउँदै कर्णाली क्षेत्रको सम्भावना र विकासबारे टिप्पणी गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले मार्सी चामलसम्बन्धी अनुभव सुनाएका हुन् ।
‘चन्दननाथमा एयरपोर्ट नै छ । पहिले सन्त चन्दनाथले मार्सी चामल ल्याएका थिए । अहिले त्यो चामल व्यापारिक रूपमा समेत चर्चित भएको छ,’ उनले भने, ‘कर्णाली, विशेषतः जुम्लाको मार्सी चामलको स्वाद मैले पनि चाखेको छु । यहाँहरूलाई थाहा नै होला ।’
मार्सी चामलको चर्चा गर्दा संसद्मा केहीबेर हाँसोको माहोल समेत बनेको थियो । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको बेलामा प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विवादास्पद व्यवसायी दुर्गा प्रसाईँसँगै बसेर मार्सी चामलको भात खाएको तस्बिर सार्वजनिक भएको स्मरण पनि यस क्रममा पुनः चर्चामा आयो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले कर्णालीमा केही पनि भएको छैन भन्नु उचित नहुने तर्क गरे । ‘कसैलाई मन नपरेर ‘कर्णालीमा केही पनि भएको छैन’ भन्नु फरक कुरा हो,’ उनले भने, ‘म यहाँबाट दर्जनौँ ठुला कुरा भन्न सक्छु । यार्सागुम्बामात्र होइन, गुछि च्याउजस्ता मूल्यवान् जडीबुटी ताप्लेजुङदेखि हुम्लासम्म पाइन्छन् ।’














