Logo
Logo

स्थानीय जनप्रतिनिधिको मिलेमतोमा एकल महिलाको सम्पत्ति हडप्ने षड्यन्त्र


2.8k
Shares

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ र ४ का वडाध्यक्षहरूले एकल महिला अन्जु केसीको सम्पत्ति हडप्न स्थानीय सरकार र अदालतका कर्मचारीसँग मिलेमतो गरेको गम्भीर आरोप लागेको छ । वैशाख २८ गते काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पीडित केसीले आफ्नो न्यायको गुहारलाई बेवास्ता गरी वडाध्यक्षदेखि अदालतका कर्मचारीसम्मले थप पीडा दिएको गुनासो गरिन् ।

चन्द्रपुर–२, जुडबेला निवासी केसीले आफू एकल महिला भएको कारण स्थानीय सरकार र अदालतबाट सहानुभूतिको सट्टा अन्यायको सिकार भएको बताइन् । उनको नाममा आएको जग्गा वडाध्यक्ष दुत्तबहादुर थिङ (वडा २) र रवि रानामगर (वडा ४) को योजनामा भोगचलन गर्न नदिएको आरोप छ ।

 ‘रौतहट जिल्ला अदालतको फैसला कार्यान्वयन गर्नुको सट्टा वडाध्यक्ष र कर्मचारीहरूले घुस मागे,’ उनले भनिन् । ‘१३ वर्षमा श्रीमान र १८ वर्षको जेठो छोरा गुमाएँ, अब कान्छो छोरालाई जोगाउन गाह्रो छ। मेरो जीवन दाउमा छ, न्याय कहाँ पाउने ?’

केसीका अनुसार, चन्द्रपुर–४ का श्यामसुन्दर काफ्लेले क्यान्टिन व्यवसायको बहानामा ८ लाख ठगी गरे । अदालतले काफ्लेको छोरा आरुशको नामको २ कित्ता जग्गा लिलाम गरी १२ लाख तिर्न आदेश दियो । केसीले अदालतमा १२ लाख जम्मा गरिन्, तर कर्मचारीहरू (तहसिलदार दुर्गा कार्की, प्रकाश सुवेदी, विन्देश्वरी साह) र वडाध्यक्ष रानामगरको मिलेमतोमा गलत जग्गा लिलाम गरियो। उनको छोरा राजु जिम्बाको नाममा पुर्जा बने पनि उक्त जग्गा भेटिएन । 

पछि काफ्ले परिवारले सोही जग्गा अर्काको नाममा पास गर्न खोजे, जुन केसीले रोक्का गरेकी छन् । यो प्रकरणमा उनलाई ६० लाखको ऋणले थिचिएको छ । यस्तै, चन्द्रपुर–२ मा वडाध्यक्ष थिङको योजनामा अदालतका कर्मचारीसँग मिलेर उनको करिब ५० लाखको जग्गा भोगचलन गर्न नदिएको र उल्टै तीनवटा मुद्दा लगाएर थप पीडा दिएको केसीको आरोप छ ।

पत्रकार सम्मेलनमा माओवादी युवा नेता सोनाम घिसिङले स्थानीय जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा सम्पत्ति हडप्ने षड्यन्त्र भएको पुष्टि भएको बताए । अर्का नेता चन्द्रबहादुर तामाङ (बसन्त) ले रौतहटमा न्याय नपाएपछि काठमाडौँमा पत्रकार सम्मेलन गर्नुपरेको उल्लेख गरे ।

केसीले चन्द्रपुर न्यायिक समिति, रौतहट जिल्ला अदालत, वडा कार्यालयहरूबाट न्यायको आशा मरेको भन्दै नेपाल सरकार र सर्वोच्च अदालतको ध्यानाकर्षण गराएकी छन्। उनले आफ्नो जीवन रक्षा र अदालतको आदेश कार्यान्वयनका लागि मिडियामार्फत गुहार मागेकी छन्।

प्रतिक्रिया दिनुहोस्