Logo
Logo

सशस्त्रमा एआइजी बढुवामा प्रतिष्पर्धा


7.6k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआइजी) पदका लागि आठ जना नायव महानिरीक्षक (डिआइजी)ले आवेदन दिएपछि डिआइजी कमल गिरी र गणेश ठाडामगरबीच चर्को प्रतिस्पर्धा देखिएको छ । बढुवा समितिको सचिवालयले गत वैशाख १४ गते सात दिनको समय दिएर आवेदन भर्न आह्वान गरेको थियो । आवेदन भर्ने मिति अघिल्लो साता नै सकिएपछि यी दुई जनाबीच चर्को प्रतिस्पर्धा देखिएको हो ।

प्रधानमन्त्री तथा गृहमन्त्रीबीच वरिष्ठता, कार्यसम्पादन र कार्यक्षमतको आधारमा बढुवा गर्ने सहमति भएपछि दोस्रो वरियतामा रहेका तर सशस्त्रभित्र निकै विवादित पात्रको रुपमा परिचित डिआइजी ठाडामगरको अस्वाभिवक चलखेलले एआइजी बढुवालाई अस्वस्थ प्रतिस्प्र्धामा परिणत भएको छ ।

ठाडा मगरले अहिलेसम्म प्रधानमन्त्रीका स्वकीय रहेका र नेपाल र सशस्त्र प्रहरी हेर्ने दीपेन्द्र दाहाललाई भेटेर कुरा मिलाई सकेको बताउन भ्याएका छन् । यसैगरी अर्को स्वकीय राजेश बज्रचार्यको पनि नाम जोडिएको छ ।

यसैगरी अर्को विचौलिया रामचन्द्र भट्टमार्फत परराष्ट्रमन्त्री आरजु राणाको भाइ भूषण राणालाई भेटेर आश्वासन पाइसकेको भन्दै आफू ढुक्क रहेको बताउन थालेको स्रोतले जनाएको छ । डिआइजी ठाडामगरले सशस्त्र मुख्यालयमा हल्ला गरिरहेको एक सशस्त्र प्रहरी अधिकृतले बताए ।

नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएर आएकाहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी रहेका छन् । यसैगरी नेपाल प्रहरीमा प्राविधिक नायव निरीक्षक (सई) मा भर्ना भएर सशस्त्रको डिआइजी जस्तो उच्च पदमा पुग्न सफल लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पाल छन् । यस्तै सशस्त्रको पहिलो इन्स्पेक्टर बेसिकका सुरेशकुमार श्रेष्ठ र अञ्जनी पोखरेलले एआइजीको लागि आवेदन दिएका छन् ।

३० वर्षे सेवा अवधिका कारण एआइजी चन्द्रप्रकाश गौतम २ वैशाखको रातिदेखि अनिवार्य अवकाशमा गएसँगै रिक्त एक पदमा बढुवा हुने भएको हो । बढुवा भए तीन वर्षपछि भावी संगठन प्रमुखको दाबेदार र नभए विभिन्न मितिमै डिआइजीबाटै अवकाशमा जानुपर्ने भएकाले पनि यो बढुवा विशेष बन्न पुगेको छ । ‘जसरी पनि बढुवा हुने हो मेरो यो मिसन हो’, उनले सशस्त्र प्रहरी कार्यालयमा भन्ने गरेको स्रोतको दावी छ ।

अहिले रिक्त एक एआइजीमा बढुवा हुने व्यक्ति २०८४ साल चैत १७ पछि संगठन प्रमुख बन्ने बलियो आधार हुने भएकाले पनि यो बढुवा निकै पेचिलो बनेको छ । विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर राजु अर्याल १७ वैशाख २०८३ देखि अनिवार्य अवकाशमा जान्छन् । त्यसपछि अहिले एआइजी रहेका नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एकजना आईजी बन्ने अवस्था आउँछ । बढुवाको मूख्य दावेदार रहेका गिरीलाई अन्य प्रतिस्पर्धीको तुलनामा पेशागत मर्यादा र उच्च मनोबल भएका तथा कार्यसम्पादनमा अब्बल रहेका प्रहरी अधिकृत मानिन्छन् ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको प्रमुख रहेका बेला तत्कालीन एसएसपी ठाडामगरमाथि सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । ट्रम्प अहिले पुनः राष्ट्रपति छन् ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको प्रमुख रहेका बेला तत्कालीन एसएसपी ठाडामगरमाथि सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । ट्रम्प अहिले पुनः राष्ट्रपति छन् ।

उनीमाथि नम्बर २ छिन्नमस्ता बाहिनीको बाहिनीपति हुँदा तस्करी खुलाएको गम्भीर आरोप छ । सो बाहिनीको बाहिनीपति हुँदा उनी र विवाद भन्ने शव्द पर्याय नै बनेको थियो । उनी त्यहाँको बाहिनीपति हुँदा सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या भएको थियो । उनको हत्या नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न खोज्दा तस्करीको पक्षमा रहेका सशस्त्र प्रहरीकै संलग्नतामा भएको त्यसबेला चर्चा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्