
काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदै छ ।
अधिवक्ता नवीन धितालले महाप्रसाद पदमा रहँदै गठित गभर्नर सिफारिस समितिमा नियुक्त गरिएको र सो कार्य गैरकानुनी भएको दाबी गर्दै दायर रिटमा आजबाट प्रारम्भिक सुनुवाइ हुन लागेको हो । सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ ।
अधिकारीले चैत २४ मा उमेरहदका कारण अवकाश पाएका थिए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा चैत १६ गते गभर्नर सिफारिस समिति गठन भएको थियो । समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई वैशाख १७ गते सो समितिमा नियुक्त गरिएको थियो ।
पदमा बहाल रहेकै अवस्थामा गठन भएको सिफारिस समितिमा बसेर काम गर्नु कानुनविपरीत भएको धितालले रिटमा उल्लेख गरेका छन् ।














