काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का सांसद नारायण प्रसाद आचार्यले संसद्मा जनताको आवाज ओझेलमा परेको र व्यक्तिगत स्वार्थ हाबी भएको गुनासो गरेका छन् । मङ्गलवारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले संसदलाई राष्ट्र र जनताको हितमा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

‘नेपालको संसदीय अभ्यासमा राष्ट्र र जनताभन्दा व्यक्तिगत स्वार्थ केन्द्रित भएको हो कि भन्ने स्थिति देखिएको छ,’ उनले भने । संसदलाई दुर्गम क्षेत्रको आवाज बुलन्द गर्ने, देशलाई समृद्धिको बाटोमा डोर्याउने र मर्यादित थलो बनाउनुपर्ने उनको आग्रह छ ।
तर, संसद्मा स्तरहीन, असंसदीय र गैरजिम्मेवार अभिव्यक्तिका कारण यो झगडाको थलो बनेको भ्रम जनतामा परेको उनको भनाइ छ । ‘यस्ता गतिविधि रोकेर संसद्को गरिमा कायम गर्न जरुरी छ,’ उनले भने
लोकतन्त्रमा राजनीतिक दलको भूमिका निर्णायक हुने भन्दै उनले संसद्मा दलको आधिकारिक धारणा मात्र प्रस्तुत गर्नुपर्ने बताए । ‘हामी जनताको अमूल्य मतबाट यहाँ आएका हौँ । प्रचार र भाइरल हुने उद्देश्यले अनावश्यक विषय नल्याऔँ’, उनले भने । ‘सामाजिक मर्यादा कायम हुने गरी जनताकेन्द्रित र आधिकारिक धारणा राख्दा मात्र संसद्को मर्यादा रहन्छ ।’
सांसद आचार्यले सरकार ढल्छ वा ढल्दैन भन्ने बहस छाडेर विकास आयोजनाको प्रगति, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता जनजीवनसँग जोडिएका मुद्दामा छलफल गर्नुपर्ने बताए । संविधानले आधारभूत तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य भनेको उल्लेख गर्दै उनले यसलाई कार्यान्वयनमा लैजान जोड दिए ।
‘पपुलर हुने नाममा अनावश्यक विषयले संसद्को गरिमा जोगिँदैन,’ उनले भने, ‘जनताको जीवनमा प्रभाव पार्ने विषयमा केन्द्रित भएर बहस गरौँ ।’














