Logo
Logo

शीतलनिवासमा ‘अफ द रिकर्ड’


- दृष्टि न्युज/संवाददाता


राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार शीतलनिवासमा प्रमुख मिडियाका सम्पादकहरुलाई बोलाएर चियापानको आयोजना गर्नुभयो । मिडियासँग दिनहुँ साक्षात्कार भए पनि मिडियाका सम्पादकहरुसँग उहाँको लामो समयदेखि भेटघाट भने भएको थिएन । कुराकानीको सुरुमै राष्ट्रपति भण्डारीले नेपालको भूमि समेटेर नेपालको नयाँ नक्साका साथै निशान छाप जारी हुँदा जसरी राष्ट्रिय सहमतिको वातावरण बन्यो, देश विकासका लागि पनि त्यही वातावरण आवश्यक भएको बताउनुभयो । नेपालले नयाँ नक्सा जारी गर्दा नेपालका मिडियाहरुको पनि अत्यन्त महत्वपूर्ण भूमिका रहेको बताउनुहुँदै हाम्रो इतिहास, भूगोल र संस्कृतिका विषयमा पनि मिडियाले बारम्बार कुरा उठाउनुपर्ने बताउनुभयो ।

पछिल्लो समय विकसित भएको राजनीतिक घटनाक्रममा मिडियाले अनावश्यकरुपमा राष्ट्रपतिलाई मुछेको समाचारप्रति मिडियाको ध्यानाकर्षण गर्दै कपोलकल्पित समाचारले जनतामा भ्रम सिर्जना हुने मात्र होइन, मिडियाको विश्वसनीयतामाथि नै प्रश्न उठ्ने भएकोले कतिपय घटनाक्रम रिर्पोटिङ गर्दा सत्यतथ्यको आधारमा गर्न सुझाव दिनुभयो । उहाँको भनाइ थियो– प्रधानमन्त्री र राष्ट्रपतिको भेटमा के कुरा भयो भन्ने कुरा समेत मिडियाले मनगढन्ते ढंगबाट प्रस्तुत गर्ने गरेको उहाँले बताउनुभयो ।

राष्ट्रपतिको काम, कर्तव्य र अधिकार संविधानले निर्दिष्ट गरेकोले त्यसैभित्र रहेर आफूले कार्यसम्पादन गर्दा पनि मिडियाले अनावश्यकरुपमा राष्ट्रपतिमाथि आक्षेप लगाउने गरेको घटनाप्रति चित्त दुखाउँदै अठार करोडको गाडी, करोडौंको कार्पेट खरिदजस्ता कुराले संस्थाप्रति जनताको दृष्टिकोण नकारात्मक बन्ने बताउनुभयो । जुन कुरा साँचो होइन, त्यही कुरालाई मिडियाले किन उछाल्छ भन्ने प्रश्न गर्दै आफू पनि सामान्य किसान परिवारबाट यो ठाउँसम्म आइपुगेको व्यक्ति भएकाले त्यस्तो आरोपले आफूलाई दुःखी बनाउने बताउनुभयो ।

राजनीतिक परिवर्तनको हिसाबले देशमा यति ठूलो परिवर्तन हुँदा पनि समाजको चेतनास्तर अझै उठ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै महिला, दलित वर्ग अहिले पनि प्रताडित हुनुपरेको बताउनुभयो । रुकुम घटना र गीता हत्याको नाम उल्लेख नगरी राष्ट्रपति भण्डारीले त्यस्तो घटनाले आफूलाई दुःखी बनाउने बताउँदै कानूनी राज्यको पालनामा आफू दृढ भएको बताउनुभयो ।

दुई छिमेकीसँग अत्यन्त राम्रो सम्बन्ध भएको बताउँदै राष्ट्रपति भण्डारीले केही समस्या छन् भने कूटनीतिक माध्यमबाट पहल गरिनुपर्ने बताउनुभयो । निर्वाचनमा गरिएको घोषणपत्रअनुसार सरकारले काम गर्नुपर्ने बेला ‘म्युजिकल चियर’मा लाग्दा जनतामा राम्रो सन्देश नजाने उहाँको भनाइ थियो । करिब दुइृ घण्टाको अन्तक्र्रियापछि उहाँले यी सब कुरा ‘अफ द रिकर्ड’ भएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्