उदयपुर । वर्षासँगै आएको आँधी, हावाहुरीका कारण उदयपुरका विभिन्न स्थानमा दर्जनौँ घर तथा विद्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान वर्षासँगै हावाहुरी र आँधी आउँदा जिल्लाका विभिन्न क्षेत्रमा विद्यालय तथा घरमा क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले जिल्लाको चौदण्डीगढी नगरपालिका–१० खैराहा झोडामा हावाहुरीका कारण स्थानीय हर्क श्रेष्ठको घर, ध्रुव खत्री, सम्भव अधिकारीको घरको छानो उडाएको जानकारी दिए ।
उदयपुरगढी गाउँपालिका–६ को जगेटारस्थित माध्यमिक विद्यालयको सबै छानो हावाहुरीले उडाएको छ । त्रियुगा नगरपालिका क्षेत्रसहित चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा हावाहुरीले दर्जनौँ घर तथा भौतिक संरचनामा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हावाहुरीका कारण करिब रु २२ लाख ६० हजारभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक दोङले बताए । जिल्लाको अन्य स्थानमा थप क्षति भएका हुनसक्ने भन्दै तथ्याङ्क सङ्कलन कार्य भइरहेको उनले जानकारी दिए ।














