Logo
Logo

मदन भण्डारी हत्याको सत्य–तथ्य छानबिन हुनुपर्छ : माधव नेपाल


882
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको हत्याको सत्य–तथ्य छानबिन गर्न सरकारसँग जोडदार माग गरेका छन् । मदन–आश्रित स्मृति दिवसको अवसरमा शनिवार नेकपा ९एस० ले आयोजित कार्यक्रममा बोल्दै उनले यो घटनालाई रहस्यमय हत्या भएको उल्लेख गर्दै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

The current image has no alternative text. The file name is: Madhav-NEpal.jpg

अध्यक्ष नेपालले मदन–आश्रित हत्या प्रकरणका एक मात्र साक्षी ड्राइभरको पनि रहस्यमय तरिकाले हत्या भएको स्मरण गर्दै यो घटनाले हत्या योजनाबद्ध भएको पुष्टि गरेको दाबी गरे । “यो दुर्घटना होइन, सुनियोजित हत्या हो। सत्य–तथ्य छानबिन गरी अपराधीलाई कानुनी कठघरामा उभ्याउन सरकारको ध्यानाकर्षण गराउँछु,” उनले भने ।

नेपालले मदन भण्डारी र जीवराज आश्रितले कम्युनिस्ट आन्दोलनलाई वैचारिक र सङ्गठनात्मक उचाइमा पुर्‍याएको स्मरण गरे । भण्डारीले जडसुत्रवादलाई अस्वीकार गरी जनताको बहुदलीय जनवादको अवधारणामार्फत नयाँ विचार प्रस्तुत गरेको उनको भनाइ थियो । “मदन भण्डारीले मार्क्सवादलाई नेपाली माटोमा नयाँ प्रयोग गरे । उनको त्यही विचारलाई आत्मसात् गरी हामी अगाडि बढ्नुपर्छ,” नेपालले भने ।

उनले भण्डारीको बौद्धिकता र नेतृत्व क्षमताको विश्वव्यापी प्रशंसा भएको उल्लेख गर्दै उनलाई ‘नेपालका कार्ल मार्क्स’ को संज्ञा दिइएको बताए । नेपालले अहिलेको कम्युनिस्ट आन्दोलनलाई बचाउन नेपाली विशेषताको समाजवादमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । “देशको परिस्थितिअनुसार कम्युनिस्ट आन्दोलनलाई कसरी जोगाउने भन्नेमा गम्भीर छलफल जरुरी छ,” उनले थपे ।

कार्यक्रममा नेपालले आफूले पनि भण्डारीले जस्तै नयाँ चुनौतीहरूको सामना गर्दै आन्दोलनलाई अगाडि बढाइरहेको बताए । उनले आशावाद र निराशावाद दुवैसँग जुधेर भण्डारीको विचारलाई जीवन्त राख्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्