Logo
Logo

धनुषा वाटरल्यान्ड पार्कमा विद्यार्थीको उपद्रो, १० पक्राउ, ५ प्रहरी घाइते


2.3k
Shares

जनकपुर ।  धनुषाको छिरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित वाटरल्यान्ड पार्कमा शनिवार दिउँसो विद्यार्थीहरूले तोडफोड र सडक अवरुद्ध गरेपछि प्रहरीसँग झडप भएको छ । घटनामा संलग्न १० जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ भने झडपमा पाँच प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरू विशेष छुटमा नुहाउन वाटरल्यान्ड पार्क पुगेका थिए । पार्कले सामान्यतया प्रतिव्यक्ति ९०० रुपैयाँ शुल्क लिने गरे पनि कृष्ण फाउन्डेसनको सहयोगमा प्रचारका लागि शनिवार जनही १०० रुपैयाँ मात्र शुल्क तोकिएको थियो ।

तर, १,५०० देखि २,००० विद्यार्थी एकैपटक पुग्दा पार्कको क्षमता अपर्याप्त भएको र व्यवस्थापनमा असन्तुष्ट बनेका विद्यार्थीहरूले तोडफोड सुरु गरेका थिए । 

उनीहरूले पार्कभित्र लाखौँको क्षति पुर्‍याएका छन् भने जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गरी दुईवटा सवारी साधनमा समेत तोडफोड गरेका छन् ।

प्रहरीले अवस्था नियन्त्रण गर्न चार सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा ढुंगामुढा लागेर पाँच प्रहरी घाइते भएका छन् । प्रहरीका अनुसार  सिसिटिभी फुटेज र अन्य प्रमाणहरूको आधारमा थप संलग्नहरूलाई पक्राउ गर्ने कार्य भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्