Logo
Logo

गाजाको ‘रक्तपात’ अन्त्यका लागि अरब शिखर सम्मेलनको दबाब


एजेन्सी

504
Shares

बग्दात । इजरायलले प्यालेस्टिनी भूमिमा विस्तारित सैन्य आक्रमण सुरु गरेपछि बग्दादमा शनिबार भएको शिखर सम्मेलनमा अरब नेताहरूले गाजा युद्धविरामका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र कब्जा गर्ने प्रस्ताव दोहो¥याएपछि अरब लिगका सदस्यराष्ट्रहरूले पनि गाजाको पुनर्निर्माण योजनालाई सहयोग गर्न कोषको माग गरेका छन् ।

अरब नेताहरूले ‘रक्तपात अन्त्य गर्न दबाब दिन र गाजामा आवश्यक पर्ने सबै क्षेत्रमा तत्काल मानवीय सहायता निर्वाध प्रवेश गर्न सकोस् भन्ने सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । उनीहरूले प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने कुनै पनि योजनालाई ‘दृढतापूर्वक’ अस्वीकार गर्ने बताएका छन् ।

इजरायली सेनाले प्यालेस्टिनी लडाकू समूह हमासलाई परास्त गर्ने उद्देश्यले गाजा पट्टीमा युद्धको विस्तारको हिस्सा भएको भन्दै गाजामा नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि यो घटना भएको हो ।

मानवताको सिद्धान्त उल्लंघन

शिखर सम्मेलनमा अतिथिका रुपमा उपस्थित स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले गाजामा भएको नरसंहार रोक्न थप दबाब दिन आग्रह गरेका छन् । इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले गाजामा युद्धविरामका लागि आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई आवश्यक सबै प्रयास गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले शिखर सम्मेलनमा भने, ‘हामीलाई अब स्थायी युद्धविरामको आवश्यकता छ ।’ गुटेर्रेसले इजरायलले स्थलगत कारबाही विस्तार गर्ने र अन्य धेरै योजना बनाएकोमा आफू चिन्तित बनेको बताए ।

उनले भने, ‘हामी गाजाको जनसङ्ख्याको बारम्बार विस्थापन र गाजाबाहिर जबर्जस्ती विस्थापनको कुनै पनि प्रश्नलाई अस्वीकार गर्दछौँ ।’ सम्मेलनमा इजरायली आक्रमणको कडा आलोचना गर्दै सान्चेजले भने, ‘विश्वका नेताहरूले विशेष गरी अन्तर्राष्ट्रिय कानूनले हामीलाई प्रदान गरेका च्यानलहरूमार्फत गाजामा नरसंहार रोक्न इजरायलमाथि हामीहरूको दबाब बढाउनुपर्छ ।’

उनले आफ्नो सरकारले इजरायलको युद्ध विधिबारे अन्तर्राष्ट्रिय अदालतले फैसला गर्न माग गर्दै संयुक्त राष्ट्रसङ्घमा प्रस्ताव ल्याउने योजना बनाएको बताए । उनले गाजामा युद्धपीडितको ‘अस्वीकार्य सङ्ख्या’ले ‘मानवताको सिद्धान्त’ को उल्लङ्घन गरेको बताए ।

संयुक्त राज्य अमेरिकाले गाजालाई आफ्नो नियन्त्रणमा लिन सक्ने र यसलाई ‘मध्यपूर्वको रिभेरा’ मा परिणत गर्न सक्ने घोषणा गरेर राष्ट्रपति ट्रम्पले खाडीको भ्रमण गरेको केही दिनपछि यो शिखर सम्मेलन भएको हो ।

प्यालेस्टिनीहरूको प्रस्तावित विस्थापन समावेश गर्ने योजनाको अरब मुलुकहरूबाट व्यापक विरोध भएको थियो । अरब नेताहरूले कायरोमा मार्चमा सम्पन्न शिखर सम्मेलनमा क्षेत्र पुनर्निर्माण गर्न अमेरिकी प्रस्तावको वैकल्पिक योजना प्रस्तुत गरेका थिए ।

यस क्षेत्रको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाले गाजालाई ‘कब्जा’ गरी यसलाई ‘स्वतन्त्रता क्षेत्र’ मा परिणत गर्न चाहेको दोहो¥याएका छन् ।

सम्मेलनमा बोल्दै इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीले शिखर सम्मेलनमा आफ्नो देशले यस क्षेत्रमा सङ्कट पछि ‘पुनर्निर्माण प्रयासमा सहयोग गर्न अरब कोष’ को स्थापनाको समर्थन गरेको बताए ।

इजरायल र इरान समर्थित हिजबुल्लाहबीच भएको युद्धपछि उहाँले गाजाको पुनर्निर्माणका लागि दुई करोड अमेरिकी डलर र लेबनानका लागि त्यति नै रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । नोभेम्बर २७ मा भएको युद्धविरामका बावजुद इजरायलले लेबनानमाथि आक्रमण जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्