काठमाडौं । सीमा जोडिएका र साधन स्रोत भएका जिल्लाहरुमा तल्लो दर्जाका प्रहरीलाई घुमुवा राख्न नेपाल प्रहरीका हाकिमहरुलाई चर्को दबाब पर्ने गर्दछ । गण्डकी प्रदेशको तनहुँ पनि नदीजन्य पदार्थको उत्खनन् र ओसारपसार हुने जिल्लामा पर्दछ । तनहुँमा पनि सादा पोशाकमा घुमुवा राख्नका लागि नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री शंकर भण्डारीले चर्को दबाब दिने गरेका छन् ।

भण्डारीले तनहुँमा अपिलराज बोहरा एसपी हुँदादेखि नै असई सन्त रिमाल, बरिष्ठ सई प्रकाश खत्री र सहायक हवल्दार भरत भुजेललाई घुमुवा राखेका थिए । उनीहरुले क्रसरका ठेकेदार बलबहादुर शाहीदेखि जुवा अखाडा संचालक खेम गुरुङ र रमेश भट्टराईमार्फत् सेटिङ गरी हाकिमदेखि आफूले समेत लाभ लिंदैआएका थिए ।
विकाशराज खनाल गण्डकी प्रदेशको डीआईजी भएपछि जुवा र क्रसर ब्यवसायीसँग असुली गरेको धेरै गुनासा आएपछि भुजेललाई बिशेष सुरक्षा गाण बेलचौतारा तनहँुँमा सरुवा गरिएको थियो । यसअघिका आईजीपी बसन्तबहादुर कुँवरले उनलाई बेलचौतारा गणमा सरुवा गरिदिएका थिए ।
रिमाल र खत्रीलाई भने राजनीतिक दबाबमा यथावत घुम्ुवा राखिएको थियो । रिमाल र खत्री पनि केही महिनाअघि गण्डकी प्रदेश प्रहरीमा गुनासा पुगेपछि तानिए । तर भुजेल कांग्रेस नेता भण्डारीमार्फत दबाब दिएर पुनः तनहुँको घुमुवाका रुपमा फर्किएका छन् ।
२ महिनादेखि सहायक हवल्दार भरत भुजेललाई पुनः तनहुँ जिल्ला प्रहरी कार्यालयले सादा पोशाकमा घुमुवाका रुपमा खटाइएको छ । भुजेलको दरबन्दी इलाका प्रहरी कार्यालय देवघाट हो । तर उनी तनहुँ जिल्लाकै घुमुवाका रुपमा जुवाडे र क्रसरवालासँग हप्ता असुली गर्न तल्लीन भएर लागेका छन् । महिनामा ५ लाख उठाउने सर्तमा उनलाई तनहुँको घुमुवाका रुपमा लगिएको स्रोत बताउँछ ।
शिक्षक संघ तनहुँका अध्यक्ष समेत रहेका भट्टराईलाई तनहुँमा ठाउँ फेरी फेरी जुवा खेलाउने गरेको आरोप छ । भुजेलले भट्टराईका जुवा अखाडाको सेटिङ गरी संचालन गर्न दिएबापत हप्तामा दररेट लिने गरेका छन् ।
नदीजन्य पदार्थको दोहन गर्ने बलबहादुर शाहीसँग पनि उनले मासिक रुपमा दररेट तय गरी लिने गरेका छन् । भुजेलले गण्डकी प्रदेशका डीआईजीको समेत नाम लिएर असुलीमा लागेको आरोप छ ।
कांग्रेस नेताहरु र उनीहरुका निकटस्थ ब्यवसायीको लगानीका दर्ता नभएका र नवीकरण नभएका क्रसर उद्योगहरुमा घुमुवा भुजेलले घुस असुल्ने गरेको आरोप छ ।











